पोखरा
सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउने मलमा कालोबजारी भएको पाइएको छ । मल बिक्रीका लागि अनुमति नलिइकन अनुदानको मल दुरुपयोग गरेर किसानसँग चर्को मूल्य लिएको खुलेको हो ।
पोखराको अमरसिंह चोकमा रहेको अमरसिंह शुलभ कृषि सामग्रीले मल बिक्रीका लागि अनुमति नलिइकन तोकेको मुल्य भन्दा १५ रुपैयाँसम्म बढी लिएको हो ।
उपभोक्ताको गुनासो आएपछि आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समिति तत्काल अनुगमनमा पुग्यो ।
महानगरकी उपप्रमञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोलासहित पुगेको टोलिले अनुगमनमा उपभोक्ता सहकारी संघबाट मल ल्याएर २१ रुपैयाँको युरियालाई ३५ रुपैयाँ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँमा बिक्री गरेको फेला पारेको हो ।
अमरसिंह शुलभ कृषि सामग्रीमा फेला परेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास बिक्रीमा रोक लगाएको पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
‘स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रभित्र किसानको परिचय खुल्ने गरि बिक्री गर्नुपर्ने भएपनि त्यसको समेत पालना भएको पाइएन । थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छ’, उनले भने ।
यस्तै, उपभोक्ता सहकारी संघले पनि कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा ल्याएको मल बिक्रीका लागि अनुमति नलिएको सहकारी र पसललाई चर्को मुल्यमा बिक्री गरेको छ ।
कार्यक्षेत्र भन्दा बाहिर मल पठाउने गरेको, बिल बिजक जारी नगरेको, मूल्यसुचि नराखेको फेला परेको हो । कृषि सामग्रीबाट ल्याएको ५० बोरा र साल्ट टे«डिंग कर्पोरेशन लिमिटेडबाट ल्याएको ३५ बोरा युरिया त्यसरी बिक्री गरेको भेटिएकाले सोमबार जिल्ला प्रशासनमा हाजिर हुन भनिएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
गुरुङका साउन १२ गते बसेको पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिले सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य तोकेको थियो ।
मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण तोकेको छ ।
डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तोकिएको छ । पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ । मल बिक्रेताले प्लाष्टिक झोलाको २ रुपैयाँसम्म लिन पाउनेछन् ।
पोखराका २६ वडामा ६७ केन्द्रबाट मल बिक्री वितरणको अनुमति दिएको महानगरले जनाएको छ ।
प्रकाशित मिति २०८० साउन २१ गते आइतबार ०८:२९




