पोखरा
अनुदानको रासायनिक मलमा कालोबजारी गर्नेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
प्रशासनले उपभोक्ता सहकारी संघ लिमिटेड र अमरसिंह कृषि सहकारी संस्थाले सञ्चालन गरेको सुपथ मूल्यको कृषि सामग्री केन्द्रलाई २०/२० हजार रुपैयाँ जरिवाना गरेको हो ।
उपभोक्ताको गुनासो आएपछि आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समिति संयोजक उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोलासहित टोली अमसिंह सहकारीको बिक्री केन्द्रको अनुगमनमा पुगेको थियो ।
उपभोक्ता सहकारी संघ लिमिटेडबाट मल ल्याएर अमरसिंह शुलभ कृषि सामाग्रीले २१ रुपैयाँको युरियालाई ३५ रुपैयाँ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको फेला पारेको थियो ।
सोमबार जिल्लाका प्रशासन कार्यालय कास्कीका प्रमुख बासुदेव घिमिरेको रोहबरमा बसेको बैठकले जरिवानासहित मल जफत गरेको छ ।
अमरसिंह कृषि सहकारीको बिक्री केन्द्रमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास जफत गरि साल्ट ट्रेडिङ कर्पोरेशनमा फिर्ता ल्याएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
‘उपभोक्ता सहकारी संघलाई अनुदानको मल बिक्री अनुमति खारेजको निर्णय भएको छ’, उनले भने ।
प्रकाशित मिति २०८० साउन २२ गते सोमबार ०५:५०




