पोखरा
भ्रष्टाचारका काण्डैकाण्डले अहिले देशको राष्ट्रिय राजनीतिलाई नै तरंगित पारेको छ । सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनाबिना प्रकरण लगायतले जनताको आवाज बोल्ने थलो प्रतिनिधि सभा पनि विवादित बनेको छ । देशमा भ्रष्टाचार र अनियमितताका घटना दिनहुँ बढिरहेको बेलामा वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुलीले भ्रष्टाचार विरुद्धको सन्देशमूलक तीज गीत सार्वजनिक गरेका छन् ।

नेपाली महिलाहरुको पर्व तीज आउन करिब एक महिना बाँकी रहँदा उनले वेदनाको पोको भाग १३ सार्वजनिक गरेका हुन् । ८ वर्षपछि बजारमा उनले ल्याएको गीतमा भ्रष्टाचारविरुद्ध तीज गीत प्रतियोगिता शैलीमा सन्देश प्रस्तुत गर्न खोजिएको छ । गीतमा शब्द र लय वरिष्ठ गायक प्रजापतीको छ भने स्वर चर्चित लोक तथा दोहोरी गायिका प्राज्ञ सरला पाण्डेको छ । प्रजापतीले पछिल्लोपटक २०७२ को तीजमा संविधान आएन भन्ने सन्देशमूलक गीत बजारमा ल्याएका थिए । २०३७ सालदेखि दोहोरी गाउन थालेका उनले यसअघि १२ वटा तीज गीत बजारमा ल्याएसकेका छन् ।
गीतमार्फत समाजका रहेका भ्रष्टाचार कसरी कम गराउने भन्ने विषयमा देखाउन खोजिएको उनको भनाइ छ । ‘समाजमा विकृति, विसंगति बढेका छन्, भ्रष्टाचार बढेका छन्,’ उनले भने, ‘यो गीतले ती सबै विकृतिलाई कसरी रोक्ने भन्ने सन्देश दिने प्रयास गरेको छ। ’ भ्रष्टाचार गरेर आफ्ना सन्ततीलाई सम्पत्ति थुपार्नु भन्दा सिप, शिक्षा र क्षमता विकासमा ध्यान दिन पराजुलीले गीत मार्फत् आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८० साउन ३१ गते बुधबार ०७:४४



