कास्कीको अवस्था चिन्ताजनक
पोखरा । गण्डकी प्रदेशमा हालसम्म १ लाख १ हजार ६८३ जनाको स्वाब परिक्षण भएकोमा १० हजार ५४८ जनामा काेभिड १९ को संक्रमण पुष्टि भएको छ । प्रदेशमा ५ हजार ७३६ जनाले कोरोना जितेका छन् भने हालसम्म कोभिडकै कारण कुल १२७ जनाले ज्यान गुमाइसकेका छन् ।
गण्डकी प्रदेशमा हाल ५ हजारको हाराहारीमा सक्रीय संक्रमित रहेका छन् । मंसिर ३ गते साँझ ५ बजेसम्मको तथ्याङ्कका आधारमा प्रदेशभर हाल ४ हजार ६८५ जना सक्रीय संक्रमित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जिल्ला अनुसारको विवरणमा गण्डकी प्रदेशमा कास्की सर्वाधिक धेरै प्रभावित जिल्ला बनेको आँकडा छ । प्रदेशभर कुल १० हजार ५४८ जना संक्रमित बन्दा कास्कीका मात्रै ४ हजार २८५ जना संक्रमित बनेका छन् । कास्कीका १ हजार ३९४ जनाले कोरोना जितेर घर फर्किएका छन् भने प्रदेशभरका सक्रीय संक्रमितको संख्याको आधाभन्दा धेरै २ हजार ८३० जना सक्रीय संक्रमित कास्कीका रहेका छन् । यस्तै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्यामा पनि कास्की सिङ्गो प्रदेशकै हाराहारीमा पुगेको छ । प्रदेशभर १२७ जनाको ज्यान जाँदा कास्कीका मात्रै ६१ जनाले ज्यान गुमाएका हुन् । यो सवै तथ्यलाई हेर्दा समग्र प्रदेशमा कास्कीको अवस्था चिन्ताजनक छ ।
कास्कीपछि सर्वाधिक धेरै प्रभावित बर्दघाट सुस्तापूर्व नवलपरासी परेको छ । जहाँ हालसम्म २ हजार ५३ जना संक्रमित बनेका छन् । १ हजार ४२७ जना निको भएर घर फर्किँदा नवलपराासीमा हाल ६०७ जना सक्रिय संक्रमित रहेका छन् । नवलपरासीमा हालसम्म काेरोनाकै कारण कुल १९ जनाले ज्यान गुमाइसकेका छन् ।
यता, तनहुँमा हालसम्म १ हजार ६९ जनामा काेरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७१४ जनाले कोरोना जितेका छन् भने तनहुँमा हाल ३४० जना सक्रीय संक्रमित रहेका छन्। तनहुँमा हालसम्म कोरोनाकै कारण १५ जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तै, स्याङ्जामा हालसम्म ६५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५५८ जना निको भएका छन् भने ८८ जना सक्रीय संक्रमित रहेका छन् । स्याङ्जामा हालसम्म कोरोनाका कारण ११ जनाको मृत्यू भएको छ ।
गाेरखामा ६५६ जनामा कोरोना पुष्टि हुँदा २४८ जना निको भएका छन् । ४०० सक्रीय संक्रमित रहँदा ८ जनाको ज्यान गएको छ । प्रदेशको बाग्लुङ्मा हालसम्म ७६६ जनामा कोरोना पुष्टि भएको छ भने ६१२ जना निको भइसकेका छन् । १४६ जना सक्रीय संक्रमित रहेको जिल्लामा ८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
लमजुङ्मा हालसम्म ६१८ जनामा कोभिड पुष्टि भएको छ । ५२८ जना निको भएर घर फर्किँदा ८९ जना सक्रीय संक्रमित छन् । लमजुङ्का १ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।
पर्वतमा २७२ जना संक्रमित बन्दा १६२ जना निको भइसकेको तथ्याङ्क छ । १०९ जना सक्रीय संक्रमित रहेको जिल्लामा १ जनाले कोभिडकै कारण ज्यान गुमाएका छन् । यता, म्याग्दीमा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८३ जनाले आराम पाइसकेका छन् भने हाल ५२ जना संक्रीय संक्रमणमा रहेका छन् । म्याग्दीमा हालसम्म ३ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।
मनाङ्मा हालसम्म ९ जनामा संक्रमण पुष्टि भएको र ९ जनानै निको भएपछि हाल कुनै सक्रीय संक्रमित रहेका छैनन् भने मनाङ्मा हालसम्म कसैको पनि कोभिडका कारण ज्यान गएको छैन् । यता, मुस्ताङ्मा भने २५ जनामा संक्रमण पुष्टि भएको छ । १ जना निको भएर घर फर्केका छन् बाँकी २४ सक्रीय संक्रमित रहेको निर्देशनालयले उल्लेख गरको छ । मुस्ताङ्मा पनि हालसम्म कोभिडका कारण कसैले ज्यान गुमाउनु परेको छैन ।
प्रकाशित मिति २०७७ मंसिर ४ गते बिहीबार १२:०४




