२०८३ साउन २१ गते बिहीबार

पोखराको मातृ शिशु मितेरी अस्पतालमा सुत्केरी भएकी महिलाको मृत्यु

पोखराको मातृ शिशु मितेरी अस्पतालमा सुत्केरी भएकी महिलाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ९ गते शनिबार ०७:५०

दोस्रो पटक अपरेसन गर्नेबेला उनको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो ।

पोखरा

पोखरा १६, बाटुलेचौरस्थित मातृ शिशु मितेरी अस्पतालमा अपरेसन गरेको एकहप्तापछि महिलाको मृत्यु भएको छ । अपरेसन गरेर बच्चा जन्म दिएको एकहप्तापछि म्याग्दी घर भई हाल पोखरा १६ बस्दै आएकी २४ वर्षीय निलम पुनमगरको मृत्यु भएपछि पीडितका आफन्त आक्रोशित बनेका छन् ।

साउन २९ गते अस्पताल पु¥याइएकी मगरको ३० गते अपरेसनबाट छोरी जन्माएकी थिइन् । अपरेसन गरेको चौंथो दिनसम्म स्वास्थ्य राम्रो भए पछि डिस्चार्च गर्नेबेला अचानक पेट दुख्न सुरु गरेको पीडितका आफन्तले बताएका छन् ।

मगरलाई सुरुमा पश्चिमाञ्चल स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पतालमा रेफर गरिएको थियो । तर, त्यहाँ आइसियू खाली नभए पछि गण्डकी मेडिकल कलेज पुर्‍याइएकाे थियो । दोस्रो पटक अपरेसन गर्नेबेला उनको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो ।

अपरेसनका क्रममा लापरवाही हुँदा मगरको पाठेघरमै रगत जम्मा हुन गएको तर, समयमै उचित उपचार नपाउँदा उनको मृत्यु भएको परिवारको आरोप छ । आमाको मृत्यु भएपछि एकहप्ताको छोरीलाई लेखनाथस्थित बहिनीको घरमा लगिएको बहिनी दीपा पुनले जानकारी दिइन् ।

पीडितका आफन्त तथा छिमेकीहरुले शुक्रबार मातृशिशु अस्पताल परिसरमा नाराबाजी गर्दै धर्ना पनि दिएका थिए । उनीहरुले मातृशिशु अस्पताल भने पनि भेन्टिलेटर, आइसियू, एनआइसियूलगायत अत्यावश्यक व्यवस्था नहुँदा जोखिम बढेको आरोप लगाए ।

यता अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्डेन्ट डा धर्मदेव ढकालले उच्च रक्तश्रावका कारण यस प्रकृतिको घटना घट्न जाने बताए ।

अस्पताल र पीडित पक्षबीच शुक्रबार नै छानविन समिति बनाउने सहमति भएको छ । छानविन समितिले प्रतिवेदन बुझाइसकेपछि बाँकी प्रक्रिया अगाडि बढाउने उनीहरुको भनाइ छ ।

पीडितका आफन्तले बिहीबार नै शव बुझिसकेका छन् ।

प्रकाशित मिति २०८० भदौ ९ गते शनिबार ०७:५०
हजुरको प्रतिक्रिया