पोखरा
रोल्पाको सुनछहरी गाउँपालिकाले विद्यालय तहमा मगर खाम भाषा अनिवार्य गर्ने निर्णय गरेपछि विरोध सुरु भएको छ ।
पालिकाले आउँदो शैक्षिक सत्रदेखि प्राथमिक तहमा स्थानीय मगर (खाम) भाषाको कक्षा सुरु गर्ने तयारी थालेको हाे ।
मगर खाम भाषीको बाहुल्यता रहेको गाउँपालिकामा कक्षा ८ सम्म मगर भाषा अनिवार्य गर्ने तयारी पालिकाको तयारी छ ।
उक्त योजनाअनुसार पहिलो वर्ष कक्षा १ मा अनिवार्य खाम भाषा पढाइ सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिए ।
गाउँपालिकाभरि रहेका ३३ वटा स्कुलमा मगर (खाम भाषा) अनिवार्य गर्न लागिएको पालिकाले जनाएको छ ।
तर, सबै स्कुलमा खाम भाषा अनिवार्य गर्दा खस खार्य तथा गैर खामभाषी विद्यार्थीलाई समस्या हुने भन्दै आपत्ति जनाएका छन् ।
खाम भाषा तत्कालाई अनिवार्य नगर्न माग राख्दै स्थानीय टेकबहादुर विष्टको संयोजकत्वमा गठित टोलीले गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरलाई सोमबार ज्ञापनपत्रसमेत बुझाएका छन् ।
उनीहरुले ज्ञापनपत्रमार्फत खाम भाषा अनिवार्य गर्ने निर्णय तत्काल सच्च्याउनसमेत माग गरेका छन् ।
‘खाम भाषा विषय शिक्षण गर्ने भनी गरिएको निर्णयप्रति पालिका भित्रका खस आर्य तथा मगर खाम भाषा मातृभाषा नभएका समुदाय तथा विद्यार्थीहरूका लागि आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पालिकाले तत्काल सो निर्णय सच्याइ आफ्नो मातहतका विद्यालयहरूमा मगर खाम भाषा विषयलाई अनिवार्य नभै ऐच्छिक विषयमा राखी विद्यार्थीहरुको मगर खाम भाषा विषय वा अन्य वैकल्पिक विषय अध्ययन गर्न पाउने व्यवस्था गरिदिनुहुन अनुरोध छ ।’
गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरका अनुसार पालिकाको कुल जनसंख्यामध्ये ७२ प्रतिशत मगर समुदाय छन् ।
तर, भाषागत रुपमा ४७ प्रतिशतमात्रै मातृभाषा बोल्ने मगर छन् ।
उनले मगर खाम भाषा लोप हुन लागेकाले त्यसलाई जगेर्ना गर्न खाम भाषा अनिवार्य गर्न लागिएको दाबी गरे ।
‘हामीले मगर खाम भाषा जबरजस्ती लाद्न लागेको होइन । केही कुरा उहाँहरुको बुझाइमा समस्या भएको जस्तो लाग्छ । हामीले यो निर्णय तत्कालै लिएको पनि होइन, यहाँका सबै समुदाय, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक सबैसँग सल्लाह गरेरै निर्णय लिइएको हो,’ उनले भने, ‘यसका लागि पाठ्यपुस्तक पनि तयार भइसकेको छ ।’
खाम भाषाका लागि तयार पारिएको पाठ्यपुस्तकमा खाम भाषामात्रै नभएर नेपाली, अंग्रेजीमा सबै शब्दार्थ पनि राखिएकाले अन्य भाषाभाषीलाई समस्या भने नहुने दाबी पालिका अध्यक्ष पुनमगरको छ ।
‘सबैले बुझ्ने गरी बहुभाषिक रुपमा पाठ्यपुस्तक तयार पारेका छौं । सुरुमा उहाँहरुले नै यो त हुनुपर्छ भन्नुभयो, अहिले किन विरोध गरिराख्नुभएको छन, बुझ्न सकेको छैन,’ उनले भने ।
मगर खाम भाषा पढाउन शिक्षकको समेत माग भइसकेको पालिका अध्यक्ष पुनमगरले जानकारी दिए ।
उनले भने, ‘पहिलो मातृभाषा खाम रहेकाहरुलाई नै हामीले शिक्षकका रुपमा सर्ट लिस्टमा छनोट गरेका छौं । यो वर्ष १ कक्षा र त्यसपछि विस्तारै ८ कक्षासम्म अनिवार्य खाम भाषाका कक्षा सञ्चालन गर्ने योजना हो ।’
प्रकाशित मिति २०८० भदौ १२ गते मंगलबार ०५:४७




