पोखरा
राष्ट्रिय शिक्षा दिवसका अवसरमा गण्डकी प्रदेशका शिक्षासेवी, क्याम्पस तथा विद्यालय पुरस्कृत हुने भएका छन् । शिक्षा मन्त्रालय मंगलबार प्रकाशन गरेको सूचनामा पोखराका ७ सहित गण्डकी प्रदेश भित्रका २३ जना राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुने भएका हुन् ।
विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा संघसस्थाहरुबाट छनोटमा परेका व्यक्तित्वहरुलाई पुरस्कृत गर्न लागिएका हो । जसमा पोखराको पोखरा विश्वविद्यालय, स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका उपप्राध्यापक डा अर्जुनकुमार थापा र स्कुल अफ बिजनेसी उपप्राध्यापक सुजाता अधिकारी, सार्वजनिक विद्यालयका शिक्षकतर्फबाट शितलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी पुरस्कृत हुने भएका छन् ।
यस्तै निजीतर्फ एस.ओ.एस हर्मनमाइनर माविका प्रधानाध्यापक चुडामणि सुवेदी, मदरल्याण्ड माध्यमिक विद्यालयका शिक्षक वामनकुमार घिमिरे, फेवा पब्लिक स्कुल अच्युत पाण्डे पुरस्कृत हुने भएका छन् । यस्तै पोखराको गोगन मावि पोखरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल शिक्षा पुरस्कारबाट पुरस्कृत हुनेछन् ।

सामुदायिक विद्यालयबाट पुरस्कृत हुनेहरुमा महालक्ष्मी मावि गोरखा ९ का प्रधानाध्यापक चूडामणि काप्री, मनाङको नासो ५ को प्रकाशज्योति माविका पद्मराज पन्थी, लमजुङ ११ बेसिसहरको जनकल्याण माविका शिक्षक झपेन्द्रराज न्यौपाने, चन्द्रोदय मावि आँबुखैरेनी तनहुँका प्रधानाध्यापक सरला बस्नेत, स्याङ्जा भीरकोट ६ को भाग्योदय माविका निमावि शिक्षक भेषराज रेग्मी, नवलपुर गैंडाकोट ५ को जनक माविका प्रधानाध्यापक चूडामणि शर्मा, मुस्ताङको थासाङ १ को योगेन्द्र माविका प्रावि शिक्षक सन्त थकाली, म्याग्दीको मंगला २ को मंगला माविका मावि शिक्षक हुमनाथ पाण्डे, बागलुङको ताराखोला १ को जनप्रेमी माविका प्रधानाध्यापक नइन्द्रबहादुर गुरुङ र पर्वतको महाशिला ६ को मदनआश्रित माविका प्रधानाध्यापक खड्कबहादुर क्षेत्री छन् । बागलुङको चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले पनि राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् ।

व्यवस्थापन समितितर्फ स्याङ्जा पुतलीबजार ३ को काजीमान हरिटीका माविका अध्यक्ष अनुप श्रेष्ठ, पुतलीबजार १३ को कालिका माविका अध्यक्ष मीनप्रसाद कोइराला पुरस्कृत हुने भएका छन् । गोरखा भीमसेन थापा गापा ६ को सरस्वती माविका विद्यालय कर्मचारी इलिमबहादुर गुरुङ र सहिद लखन गापा ५ को सिद्धस्थानी माविकी बालविकास सहजकर्ता मीना परियारले पनि पुरस्कार प्राप्त गरेका छन् ।

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा १ सय ७७ जनाको नामावली समेत मंगलबारै सार्वजनिक भएको छ ।
नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
प्रकाशित मिति २०८० असोज २ गते मंगलबार ०७:५७




