पोखरा
मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बन गरिएको छ भने मणिपालमा कमाण्ड सम्हालेका वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी वेद जोशी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक र मृतकका आफन्तबीच भएको तनावकाे असस्थामा श्रेष्ठले विवादास्पद अभिव्यक्ति दिएका थिए ।
अस्पतालमा विवाद उत्पन्न भएपछि सुरक्षा खटिएका प्रहरी निरीक्षक श्रेष्ठले नै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोेशित भिडमा अभिव्यक्ति दिएका थिए ।
श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारवाही माग गरेका थिए ।
प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक बुद्धिराज गुरुङले श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए ।
‘मणिपाल प्रकरणमै कमाण्ड सम्हालेका जोशीलाई हेडक्वाटर तानिएको हो भने श्रेष्ठलाई निलम्वन गरेर अनुसन्धान अगाडि बढाइएको हो,’ गुरुङले भने ।
मणिपाल अस्पताल वडा प्रहरी कार्यालय बैदानको कार्यक्षेत्र भित्र नपर्ने भए पनि थप सहयोगका लागि जोशीलाई सुरक्षाको नेतृत्व दिएर पठाइएको थियो ।
जोशीले आफ्नो कार्यक्षेत्र नपर्दा पनि आफूले निभाउनुपर्ने दायित्व भने निभाएको र आदेशको पालना पनि गरेको बताए ।
गत फागुनमा जोशी बैदाम प्रहरी प्रमुख आएका थिए । यसअघि जोशी जिल्ला तानिएको भनिएको भए पनि उनी काजमा हेडक्वाटर नै तानिएको गुरुङले पुष्टि गरे ।
सुरक्षामा खटिएका प्रहरीबाटै आपत्तिजनक अभिव्यक्ति आएपछि गृह मन्त्रालयले नै एक्सन लिएको हो ।
उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ ।
समितिले छानविन गर्दासम्म श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्रवण विकले जानकारी दिए ।
मणिपालका चिकित्सकहरु दाोषीलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका थिए भने मृतक आफन्तसहित पक्षधरले पनि महेन्द्रपुलमा प्रदर्शन गरेका छन् ।
उनीहरुले डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाहीको माग गर्दै पक्राउ परेका विनय गुरुङको रिहाइको अडान लिएका छन् ।
३ दिनदेखि जिल्ला प्रशासन, अस्पताल व्यवस्थापन र पीडित पक्षबीच पटकपटक वार्ता भए पनि निष्कर्षविहीन बनेको छ ।
प्रकाशित मिति २०८० असोज १० गते बुधबार ०३:३५




