पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बहानामा उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।
कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्ने उनको भनाइ छ ।
शनिवार गोरखा अस्पतालको निरीक्षणमा मुख्यमन्त्री पाण्डेले भने, ‘अस्पतालमा भएका घटनामा संलग्नका बारेमा जुनसुकै पार्टीको होस् सहानुभुती सद्भाव केही रहँदैन । त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ ।’
संवेदनशिल विषय भएकाले सम्झौता गर्न नहुने उनले उल्लेख गरे ।
‘हाम्रो एउटा मान्यता छ बचायो भने भगवानले बचाउँछन् भन्छन् । डाक्टर भगवान होईनन ? प्रश्न गर्दै भने, ‘मलाई लाग्दैन कुनैपनि डाक्टरले बिरामीलाई मारौँ भनेर उपचार गर्छ, यस्तो हामीले सोच्नुपनि हुन्न ।’
पछिल्लो केही समय गण्डकीको लमजुङ र पोखरासँगै देशैभर चिकित्सकमाथि आक्रमणका घटना बढीरहेको उनको भनाइ थियो ।
चिकित्सकमाथि हातपात र अस्पताल जोगाउन जनप्रतिनिधिले पनि जनतालाई सचेतना जगाउनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए ।
गोरखा अस्पतालको सेवा सुविधा बिस्तारका लागि गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति २०८० असोज १३ गते शनिबार ०१:३५




