२०८३ साउन २१ गते बिहीबार

भारतीय पर्यटकले गुल्जार लेकसाइड

विनोद ढुंगाना

@Public 4K Tv

२०८० असोज १३ गते शनिबार ०३:२०

एकसाथ ७ सय बढी भारतीय पर्यटक पोखरा आएका छन् । गुजरातबाट निलकण्ठवर्णी स्मृतियात्रामा एकैसाथ धार्मिक पर्यटक नेपाल आएका हुन् ।

पोखरा

शनिबार विहान भारतीय पर्यटकले पोखराको लेकसाइड क्षेत्र गुल्जार बन्यो । स्ट्रिट नम्बर १७ देखि बाजागाँजा र झाँकि सहित निस्किएको भारतीय पर्यटकको लस्कर हल्लनचोकहुँदै तालवराहीचोक पुग्यो ।

करिब १ घण्टा फेवाताल किनारको वराहीघाटमा भिडभाड भयो । फेवातालमा डुंगा सयर गर्दै उनीहरुले तालवराही मन्दिरको दर्शन गरे ।

पर्यटकीय सिजन सुरु भएसँगै एकसाथ ७ सय बढी भारतीय पर्यटक पोखरा आएका छन् । गुजरातबाट निलकण्ठवर्णी स्मृतियात्रामा एकैसाथ धार्मिक पर्यटक नेपाल आएका हुन् ।

उनीहरु मंगलबार काठमाडौं आइपुगेका थिए । हवाइ र सडकमार्ग हुँदै काठमाडौं आएका ति पर्यटकले काठमाडौंको पशुपतिनाथ, ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुरको दरबार स्क्वायर लगायतका मठमन्दिरसँगै ऐतिहासिक गन्तव्यमा घुमघाम गरे ।

शुक्रबार पोखरा आएका उनीहरुले शनिबार विहानै तालवराही दर्शन गरेका छन् । केही सराङकोटसमेत पुगेर दृश्य हेरेर रमाए ।

ति पर्यटक आइतबार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने भ्रमण व्यवस्थापन गरिरहेको नेबिरा होलिडेजका प्रबन्धक राजु अधिकारीले बताए । ‘सयभन्दा बढी स्कार्पियो मुस्ताङ जानेछ । केही हवाइ उडानमार्फत मुस्ताङ पुग्नेछन’, उनले भने । मुस्ताङमा उनीहरु २ दिने घुम्ने अधिकारीले जानकारी दिए ।

पोखरा फर्किएसँगै २ दिन घुमघाम गर्नेछन् । पुम्दीकोट, विश्वशान्ति स्तुप, पातलेछाँगो, गुप्तेश्वरमहादेव मन्दिर, विन्ध्यावासिनी मन्दिर, सेती गर्ज लगायतका गन्तव्य पु¥याउने तालिका छ । ‘पोखराको घुमघामपछि भैरहवा हुँदै भारत फर्कनुहुनेछ’, नेबिराका प्रबन्धक अधिकारीले भने ।

एकसाथ भारतीय पर्यटक आउनुलाई मास टुरिजमको सुरुवात भएको उनको ठम्याइ छ । ‘कोरोनापछि सुनसान हुँदा पर्यटन क्षेत्रमा ठूलो निराशा छाएको छ । निराशालाई आशामा बदल्न छिमेकबाट धार्मिक पर्यटक ल्याउने कोशिष गरेका हौं’, उनले भने ।

भारतीय स्वामीहरु भ्रमणमा आएकाले धार्मिक पर्यटक बढ्ने अपेक्षा गरेको मजेरी रिसोर्टका सञ्चालक अर्जुन खनालले बताए । ‘यो संख्याले सुनसान पोखरालाई जगाएको छ’, उनले भने, ‘धार्मिक पर्यटनबाट आर्थिक गतिविधि कसरी बढाउन सकिन्छ ? नेपालको आर्थिक अवस्थालाई कसरी उकास्न सकिन्छ भनेर गरिएको अभ्यास हो ।’

यो समूहको भ्रमणले स्वामीनारायणप्रति आस्था राख्ने भारतीय धार्मिक पर्यटक नेपाल भित्र्याउन सहज भएको उनले बताए ।

पछिल्लो समय पोखरा र मुक्तिनाथ भ्रमणमा आउने पर्यटकीय पर्यटकको संख्या बढ्दो छ । बैशाख जेठताका अफसिजनको बेला पनि गर्मी छल्न आउने पर्यटकको लर्कोले पोखरा गुल्जार थियो ।

सिजनको सुरुवातमा तेस्रो मुलुकको पर्यटक छिटफुट आउँदा छिमेकबाट भारतीय पर्यटक एकैपटक ७ सय बढी आएपछि पर्यटन व्यवसायीलाई आशावादी बनाएको छ । अधिकांश भारतीय पर्यटक सडकमार्ग हुँदै आउने भएकाले पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्डको स्तरोन्नतीको काममा भएकाले ढिलाईले भने नकरात्मक सन्देश फैलने त्रास बढेको छ ।

 

प्रकाशित मिति २०८० असोज १३ गते शनिबार ०३:२०
हजुरको प्रतिक्रिया