पोखरा
पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल तोडफोडमा संग्लनलाई कास्की प्रहरीले खोजिरहेको छ । हालसम्म ८ जना पक्राउ परिसकेका छन् ।
तोडफोडमा संग्लन अन्यलाई पनि खोजिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए ।
‘यो घटनामा अन्य व्यक्तिहरुको पनि संग्लनता छ । यसमा अझै हामीले सीसि फुटेज हेरेर पहिचान गर्दैै खोजतलास जारी राखेका छौं’, उनले भने ।
गत सोमबार दिउँसो लमजुङको सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
आइतबार भर्ना भएकी दुराका आफन्तले अस्पतालका चिकित्सकको लापरवाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए । आक्रोशित मृतकको आफन्तले अस्पतालमा कार्यरत आवासीय चिकित्सक अनिल शाहमाथि हातपातसमेत गरेका थिए ।
प्रहरीले अस्पातल तोडफोड र चिकित्सकको कुटपिटमा संग्लन विनय गुरुङलाई प्रहरीले सोमबारै पक्राउ गरेको थियो ।
सीसि टिभि क्यामेराबाट पहिचान गदैै शुक्रबार राती तोडफोडमा संग्लन थप ७ जना पक्राउ परे । पोखराको न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ र प्रदीप गुरुङलाई पक्राउ परेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।
नाराबाजीमा संग्लन फिस्टेल हस्पिटलमा कार्यरत डा. दिनेशकुमार विकलाई समेत प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो । उनलाई भने भोलिपल्टै पोखरा स्वास्थ्यबविज्ञान प्रतिष्ठानका सिनेटर डा. मिनबहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्मालाई जिम्मा लगाएर छाडियो ।
मणिपालको विवाद साम्य पार्न गएका ४ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीको दाबी छ ।




