पाेखरा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा घोटाला गरको दाबीसहित आइतबार तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारले पशुपति विकास कोषका सञ्चालक परिषद्का तत्कालीन सदस्य–सचिव डा. प्रदीप ढकाल, बहालवाला कोषाध्यक्ष डा. मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । अख्तियारले ढकाल र थापाविरुद्ध एक करोड १७ लाख एक हजार बिगो माग दाबीसहित भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गतको मुद्दा चलाएको हो ।
त्यस्तै श्रेष्ठमाथि एक करोड १७ लाख १ हजार माग दाबीसहित भ्रष्टाचार मुद्दा चलाइएको छ ।
ढकाल र थापाको प्रत्यक्ष भूमिकामा सुन हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । उनीहरुले एक किलो ४९१ ग्राम सुन हिनामिना गरेको अख्तियारको ठहर छ । जुन एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ८५ पैसा मूल्यबराबरको सुन हो ।
श्रेष्ठले आफूलाई दिएको जिम्मेवारी लापरबाही र बेवास्ता गरी जलहरीमा प्रयोग भएको चाँदी तथा तामा परिमाणमा फरक पारेर सुन हिनामिना, हानि–नोक्सानी र दुरुपयोग गरेको अख्तियारको ठहर छ । जलहरीमा एक सय एक किलो ४८.५ दशमलव मात्र सुन प्रयोग भएको अभियोग पत्रमा उल्लेख छ ।
प्रकाशित मिति २०८० असोज १४ गते आइतबार ०६:३७




