पोखरा
पोेखरा एस्ट्रोनोमिकल सोसाइटीको आयोजना, रोयल एस्ट्रोनोमिकल सोसाइटी र कर्मा फ्ल्याइट्सको सहयोगमा सुरु भएको ‘नेपालको ग्रामीण क्षेत्रहरूमा खगोल विज्ञान’ परियोजना सम्पन्न भएको छ । नेपालका ग्रामीण क्षेत्रमा रहेका सरकारी विद्यालय र अध्ययनरत विद्यार्थीलाई खगोल विज्ञानका विषयमा शिक्षा दिने र आवश्यक सामग्री वितरण गर्ने उद्धेश्यले सुरु भएको परियोजना यस वर्षका लागि सकिएको हो ।
परियोजनाले यसवर्ष १२ टेलिस्कोपहरू (सेलेस्ट्रोन १३० ई.क्यू) र एस्ट्रो–किटहरूको लागि आवश्यक स्थिर सामग्रीहरू वितरण गरेको छ । साथै १२ विभिन्न विद्यालयहरूको लागि एक दिने एस्ट्रो कार्यशाला सम्पन्न गरेको पोखरा एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष निशान लामिछानेले बताए ।

‘नेपालको ग्रामीण क्षेत्रहरूमा खगोल विज्ञान’ परियोजनाका माध्यमबाट पोखरा–रुुकुम–कोल–जंग–खरबाङ–माइकोट–टकसेरा–अर्नाकोट–ढोरपाटन क्षेत्रको रुट हुदैँ विभिन्न १२ विद्यालयमा पुगेर खगोल विज्ञानबारे विद्यार्थीलाई सहजीकरण गरेर टोली फर्किएको होे । परियोजनाका लागि खगोल विज्ञान र टेलिस्कोप व्यवस्थापनको बारेमा जान्न उत्सुक विद्यार्थीहरूले लामो सडक पैदल यात्रा गरेका थिए । यात्रा कठिन भए तापनि सिकेका सिकाइले ऊर्जा मिलेको अध्यक्ष लामिछानेले सुनाए ।
हुम्लामा पहिरोले सडक अवरुद्ध हुँदा भने टेलिस्कोप जडान गर्न नसकिएको सोसाइटीका सदस्य सरोज तिवारीले बताए । उपयुक्त समय हेरेर टेलिस्कोप जडानका लागि फेरि हुम्ला जाने उनको भनाइ छ ।
प्रकाशित मिति २०८० असोज २९ गते सोमबार ०३:४३




