२०८३ साउन २१ गते बिहीबार

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरमा

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १४ गते मंगलबार ०७:१७

उनले आधार शिविरमा स्थानीयसँग जलवायु परिवर्तनले पारेको समस्याको बारेमा छलफल गर्नेछन् ।

पोखरा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अहिले कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण आधार शिविर पुगेका छन् । हिजो पोखरा आइपुगेका उनी सेनाको हेलिकप्टर मार्फत् बिहान साढे ६ बजे आधार शिविर गएका हुन् । उनले आधार शिविरमा स्थानीयसँग जलवायु परिवर्तनले पारेको समस्याको बारेमा छलफल गर्नेछन् ।

गुटेरेस अन्नपूर्ण आधार शिविर जानेभएपछि त्यहाँ हेलि प्याड थपिएको छ । पहिले एउटामात्रै भएकोमा आइतबार नेपाली सेनाले थप २ वटा हेलिप्याड बनाएको हो ।

गुटेरेसलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले हिजो पोखरा विमानस्थलमा स्वागत गरेका थिए । मुख्यमन्त्री पाण्डेले खादा माला र मेयर आचार्यले गुटेरेसलाई ढाका टोपी लगाइदिए । नेपाली सेनाको हेलिकप्टरमा पोखराको पुरानो विमानस्थलमा ओर्लिएका गुटेरसको स्वागतमा बाहिर विभिन्न सांस्कृतिक झाँकी, पञ्चे बाचासहित नागरिक समाज उपस्थित थिए । गुटेरेस लेकसाइडको फिस्टेल लजमा बसेका हुन् ।

गुटेरेस दोस्रो पटक पोखरा आइपुगेका हुन् । सन् १९७८ मा विद्यार्थी कालमा पोखरा आइपुगेको बताउँदै गुटेरेसले त्यो बेलै आफू पोखराबाट प्रभावित भएको बताएको मेयर आचार्यले जानकारी दिए । गुटेरेस फिस्टेल लजमा ताल र हिमाल देखिने कोठामा बसेका हुन् । धेरै विदेशी तथा धनाढ्य व्यक्तिहरुको रोजाइमा सोही कोठा पर्ने र त्यसको मूल्य साढे ३ सय डलर रहेको लज व्यवस्थापनले जानकारी दिएको छ ।

महासचिव गुटेरेसले पोखरा पुम्दीकोटमा रहेको शिव मन्दिरको भ्रमण गरेका छन् भने साँझ फेवातालमा डुंगा शयर गरेका थिए । आधार शिविरबाट फर्किएपछि पोखराको एयरपोर्टमा पत्रकारसँग कुराकानी गर्नेछन् भने उनी मंगलबार नै लुम्बिनीतर्फ लाग्नेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर उनले बेलुकी संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय छ । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको औपचारिक भ्रमण पूरा गरी फर्कनेछन् ।

 

प्रकाशित मिति २०८० कात्तिक १४ गते मंगलबार ०७:१७
हजुरको प्रतिक्रिया