पोखरा
६ मंसिरमा चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकै केरुंगा खोलाको कल्भर्टमा भेटिएको शवको पहिचान नभएपछि प्रहरीले मृतकको अनुहारको स्केच सार्वजनिक गरेको छ ।
बोराभित्र भेटिएको एक महिला र पुरुषको शव ११ दिनसम्म पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय चितवनले मृतकहरुको स्केच सार्वजनिक गरेको हो ।
प्रहरीको विशेष टोलीले शव भेटिएलगत्तै अनुसन्धान सुरु गरे पनि अहिलेसम्म शव कसको हो, कसले हत्या गरेर फाल्यो भन्ने थाहा नपाएपछि स्केच बनाएर सार्वजनिक गरिएको हो ।
प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो। कोही पनि व्यक्ति आफन्त हराएको सूचना दिन नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको विशेषज्ञद्वारा तयार पारिएको स्केच मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजवस्तु, चिह्न तथा कपडाहरुको विवरण सहितको फोटोबाट सनाखत हुन सक्ने भएकाले सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
स्केच हेरेपछि कोही सम्पर्कमा आउँछ कि भनेर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले लामो समयसम्म सम्पर्क हुन नसकेका आफन्तहरुलाई एकपटक फोन गरेर अवस्था बुझ्न अनुरोध गर्दै आएको छ ।
पुरुष अन्दाजी २५ बर्षको ५ फिट ७ इन्चको उचाइका छन् भने महिला ३०र३१ वर्षको ५ फिट ३ इन्च उचाइकी छन् ।
प्रकाशित मिति २०८० मंसिर १८ गते सोमबार १०:५०




