पोखरा
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले सरकार परिवर्तनमा आफूहरुलाई कुनै चासो नभएको बताएका छन् ।
नेकपा एमालेको संकल्पयात्राबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।
नेता अधिकारीले नेकपा एमालेलाई विचार, दृष्टिकोण र संविधानवादसँग मात्र चासो भएको दाबी गरे ।
उनले यही गठबन्धनले ५ वर्ष सरकार चलाउने हो भने लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय पक्षका परेड खेल्नेसमेत गम्भीर आरोप लगाए ।
बैतडीको झुलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङसम्म समृद्धिका लागि संकल्पयात्रामा निस्किएको नेकपा एमालेको टाली बिहीबार पोखरा आइपुग्ने भएको छ ।
अध्यक्ष केपी शर्मासहितको टोली मंसिर १४ गतेदेखि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित विशेष अभियान यात्रा सुरु भएको थियो ।
२१ गते दिउँसो ३ बजे पर्वत हुँदै उक्त टोली कास्की प्रवेश गर्ने नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार बिहीबार पर्वतको कुश्मामा जनसभा गरेर टोली कास्की प्रवेश गर्नेछ ।
संकल्प यात्रामा निस्केको टोलीलाई नयाँ पुलसहित अन्नपूर्ण गाउँपालिका नागडाँडा, मिलनचोक, अमरसिंह, तालबेसी, पिप्लेबजारलगायतमा स्वागत गर्ने तालिका छ । बिहीबार साँझ अध्यक्ष ओलीसहितको टोली पोखरामै बास बस्नेछ ।
पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा एमालेले यो यात्रालाई ‘हिरक जयन्ति’ नामसमेत दिएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेकी जिल्ला इन्चार्ज थममाया थापाले यो अभियानले जनतामा सिर्जना भएका नकरात्मक भ्रम चिर्ने दाबी गरिन् ।
प्रकाशित मिति २०८० मंसिर १९ गते मंगलबार ०१:४५




