पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालय तथा शहरी स्वास्थ्य केन्द्रले स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
राइट फर चिल्ड्रेन सहयोगमा भएको शिविरमा २२० जनाले सेवा लिएको वडाध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए ।
स्वास्थ्य शिविरमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्यको विकास समृद्धिको सूचक भएको बताइन् ।
‘जुन देशका नागरिक स्वस्थ हुन्छन्, त्यो देश समृद्धिको दिशामा अगाडि बढछ । त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ’, उनको भनाइ थियो ।
शिविरमा स्त्रीरोग सम्बन्धी पाठेघर वा आङ खस्न सक्नेबारे उपचार तथा स्क्रीनिङ, पाठेघरको मुखको सम्भावित क्यान्सरसम्बन्धी जाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
वडाले गत साउन ३० गते पनि पाठेघरको मुखको क्यान्सर र आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।
प्रकाशित मिति २०८० मंसिर २० गते बुधबार ०८:०६