पोखरा
कोदोको प्रबद्र्धन गर्दै उत्पादन बढाउन कास्कीमा महोत्सव हुने भएको छ ।
भदौरे क्लब र भदौरे आमा समूहले पुस ५ देखि ९ गतेसम्म महोत्सव आयोजना गरेको हो ।
पछिल्लो दशकमा कोदोको उत्पादन निकै घटिरहेको छ ।
अन्नपूर्ण गाउँपालिका–४ भदौरे पञ्चासेमा कोदोको उत्पादन बढाउन किसानलाई उत्साहित गराउन महोत्सव आयोजना गरेको क्लबका पूर्वअध्यक्षसमेत रहेका वडाध्यक्ष आइन्दल गुरुङले बताए ।
गाउँमा उत्पादन भएको कोदो संकलन गरेर महोत्सवस्थलबाट खरिदबिक्रीको व्यवस्था मिलाइने उनले बताए ।

कोदोको महत्व दर्शाउन स्वास्थ्यका हिसाबले हितकारी मानिने कोदोको ढिँडो खाने प्रतिस्पर्धासमेत आयोजना गरेको गुरुङले जानकारी दिए ।
‘लोकल कुखुराको मासुसँग कोदोको ढिँडो खाने प्रतियोगिता हुन्छ । निश्चित ढिँडो जसले छिटो खान्छ उ विजेता हुन्छ’, उनले भने ।
विजेतालाई पुरस्कारको व्यवस्थासमेत हुनेछ ।
भदौरे पञ्चासेका किसानलाई कोदो खेतीमा आकर्षण गर्न विगतमा धेरै उत्पादन गर्नेलाई पुरस्कृतसमेत गरिएको थियो ।
पञ्चासे कोदो महोत्सव, ल्होसार मेलामा खुला सेभेन ए साइड प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शनी, आमा समूहको सामूहीक नृत्य, छेलो हान्ने, कुर्ची घुमाइ, घैंटो फुटाइ, रसी तान्ने प्रतियोगितासँगै हरेक सांगीतिक कार्यक्रम हुनेछ ।
सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले १ लाख रुपैयाँको साथमा ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष अनिकुमार गुरुङले जानकारी दिए । उपविजेतालाई ६० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
प्रकाशित मिति २०८० पुस १ गते आइतबार ०७:२२




