दाेहाेरी साँझका करिब १ हजार कामदार चैत्र १० देखि बेराेजगार
पाेखरा । तीनदिन भित्र प्रशासनले व्यावसाय सञ्चालनकाे अनुमती नदिए आफूँहरू प्रशासनकाे विराेधस्वरूप बाजा बजाउँदै सडकमा निस्कने कास्कीका दाेहाेरी व्यावसायीले घाेषणा गरेका छन् ।
पर्यटन र मनोरन्जनसँग सम्वन्धित क्षेत्र जताततै खुलेपनि दोहोरी व्यवसायमाथि प्रशासनले अझै निषेध गरेर आफूँहरूमाथी अन्याय गरेकाे व्यावसायीहरूकाे आराेप छ । दोहोरीसँग सम्बन्धित संस्थाहरुले आज पोखरामा पत्रकारसँग भेटघाट गर्दै अन्य व्यवसायलाई खुल्ला गर्दा आफुहरुलाई भने सौतेनी व्यवहार गरेको भन्दै प्रशासनसमक्ष रोष प्रकट गरेका हुन् ।
व्यावसायीले मंसिर १५ गते मुख्यमन्त्री र जिल्ला प्रहरी कार्यालयबाट माैखिक स्वीकृति लिएर दोहोरी रेष्टुरेन्ट सञ्चालन गरेका थिए तर दाेहाेरी साँझ खाेल्न नपाउँदै प्रहरीले बन्द गर्न निर्देशन दिएपछि व्यवसाय पुनः ठप्प रहेको छ ।
दोहोरी खुलाउने कि नखुलाउने भन्ने बारे प्रमुख जिल्ला अधिकारी र मुख्यमन्त्रीको कै मत बाझिएकाे उनीहरूकाे बुझाइ छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरी खोल्न भनेपनि प्रजिअले संघीय सरकारको निर्देशन चाहिने भन्दै व्यवसाय खोल्न रोकेका छन् । लाेकदाेहाेरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङका अनुसार सपिङ मल, सार्वजनिक यातायात, पार्टी प्यालेस तथा पर्यटन र लेकसाइडका रात्री व्यवसाय खुलाउन कुनै लिखित पत्र नचाहिने तर दाेहाेरी व्यवसाय खुलाउन केन्द्रकाे पत्र चाहिन्छ भनेर प्रजिअले अन्याय गरेकाे उल्लेख गरे । मुलुकका अन्य शहरमा दाेहाेरी व्यवसायकाे सञ्चालन शुरू भएकाे उनले बताए ।
पोखराबाहेकका प्रमुख सहर र लेकसाइडमा मनाेरञ्जनात्म रात्री व्यवसाय निर्वाध चलिरहे पनि पोखराका दोहोरीहरु भने सुनसान छन् । दाेहाेरी व्यवसायहरु गत चैत्र १० देखि निरन्तर बन्द नै छन । व्यवसायीहरुले यही २५ गतेदेखि दोहोरी खोल्न नदिए बाध्यवाधनका साधनहरूसहित थाल ठटाउँदै सडकमा उत्रने चेतावनी दिँदै सरकारसँग व्यवसाय खुलाउन अनुराेध गरेका छन् । लाेकदाेहाेरी क्षेत्रसंग आबद्ध पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी र कास्की च्याप्टर, सांगीतिक कलाकार संघले संयुक्तरुपमा व्यवसाय खुला गर्न माग गरेका हुन् ।
पाेखरामा नियमित सञ्चालनमा रहेका २४ वटा दाेहाेरी साँझ छन । पोखराका दोहोरी साँझले विभिन्न क्षेत्र र सिपमा कार्यरत हाराहारी १ हजार कामदारकाे राेजगारी सिर्जना गरेका थिए । चैत्र १० पछि ती हजार हाराहारी मानिसकाे राेजगारी गुमेकाे छ । लाेकदाेहाेरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङका अनुसार काेभिडका कारण पाेखराकाे दाेहाेरी साँझमा करिब ५०० काे हाराहारीमा बाद्यबाधक र गायक गायिका गरि लाेकदाेहाेरीसंग सम्बन्धित कलाकारहरुकाे राेजगार गुमेकाे छ । उनका अनुसार दाेहाेरी साँझमा कार्यरत कुक, वेटर, सुरक्षा गार्ड, बाउन्सर, बार टेन्डर र क्यासियर गरि करिब ५०० वरपरका कलाकारीता क्षेत्रभन्दा बाहिरका मानिसकाे पनि राेजगारी गुमेकाे छ ।
काेभिडले कामदारलाइ मात्र नभएर पोखरामा दाेहाेरी साँझकाे व्यवसायमा लगानी गर्ने करिब १ सय जना लगानीकर्तालाइ समेत बेराेजगार बनाएकाे छ । निरमाया दाेहाेरी साँझका सञ्चालक समेत रहेका गुरुङ्का अनुसार अन्यत्र लगानी गर्ने वातावरण नभएकाे र भएकाे व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्थाले लगानीकर्ताहरुसमेत पूर्ण रुपमा बेराेजगार भएका छन ।
पोखराका दोहोरी साँझहरुमा हाराहारी १० देखि १२ करोड लगानी रहेको सान्नानी दोहोरी साँझका सञ्चालक तथा लाेकदाेहाेरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीका काेषाध्यक्ष जय कुमार परियारको भनाइ छ ।
प्रकाशित मिति २०७७ मंसिर २२ गते सोमबार १०:०३




