पाेखरा । मित्रमिलन सहकारी पोखराको कार्यक्षेत्र विस्तार गर्न भन्दै १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा फरार रहेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।
पूर्व रजिस्ट्रार पराजुली कुश्मा नगरपालिकाकाे कार्यालय ( कार्यकक्ष ) बाटै पक्राउ परेका हुन् । उनी पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीमा थिए ।
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भनिएका उनलाई कार्यकक्षबाटै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।
‘जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी पठाएपछि कार्यकक्षबाटै पक्राउ गरि पोखरा पठाउँदै छौं,’ पौडेलले भने ।
गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।
स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेका थिए ।
तर, पराजुलीले फाइल अड्काइदिएपछि १ करोड २५ लाख रुपैयाँ घुस दिएर मिलाइएको बयान दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
अब तत्कालीन रजिस्ट्रार पराजुली र राष्ट्रिय सहकारी बैंक लिमिटेडका घिमिरेसहित ३२ जना पुगेका छन् । त्यसमध्ये अध्यक्ष पौडेल र प्रबन्धक अधिकारी बैंकिङ कसुरमा प्रक्राउ परेका थिए ।
पक्राउ परेका पराजुली यसअघि पाेखरा महानगरपालिकाकाे सहकारी शाखामा समेत दर्ता अधिकारीका रूपमा कार्यरत थिए ।
प्रकाशित मिति २०८० पुस ११ गते बुधबार ०२:५५




