पोखरा
अकाउन्टेबिलिटी ल्याब नेपालले मंगलबार पोखरामा ‘भ्रष्टाचारसम्बन्धी युवा चासो’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
पोखराका युवाहरुलाई भ्रष्टाचारसम्बन्धी ऐन, नीति नियमबारे जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत सुभेच्छा चापागाईंले जानकारी दिइन् ।
अन्तरक्रिया कार्यक्रममा बास नेपाल कास्कीका अध्यक्ष रवि भण्डारीले विशेषाधिकार प्राप्त वर्गले नीति निर्माणमा आफ्नो व्यक्तिगत वा संस्थागत स्वार्थ हाबी हुने गरेको बताए । विश्वको भ्रष्टाचार सुचांकको सुचीमा नेपाल १ सय १० औँ नम्बरमा पर्नु लज्जास्पद र निराशाजनक भएको उनको भनाइ थियो ।
‘नेपालमा हुने प्रक्रियागत भ्रष्टाचार र नीतिनियममा लुपहोल खोजी दुरुपयोग गर्नु महाअपराध हो,’ उनले भने ।
सुशासनका लागि नागरिक समाजका कार्यकारी निर्देशक भानु पराजुलीले भ्रष्टाचार र सुशासनसम्बन्धी काम गर्न इच्छुक सम्पुर्ण विद्यार्थी र युवा वर्गलाई संस्थासँग आबद्घ भएर स्वयंसेवा गर्न पनि आह्वान गरे ।
सरकारी कार्यालयमा जाँदा कर्मचारीले काममा ढिलासुस्ती गरी आलटाल गरेको पाइएमा नागरिक बडा पत्र लेखी उजुरी दिन सकिने पराजुलीले जानकारी दिए । नागरिकहरु पनि जागरुक भएर आफ्नो हकअधिकारबारे सचेत हुन जरुरी रहेको उनले बताए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचारको स्तरले राष्ट्रको विकासको स्तर झल्काउने भन्दै भ्रष्टचारीहरुमा भय र डर पैदा गर्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको दाबी गरे । नेपालमा भ्रष्टाचारविरुद्धको कानुन बने पनि कार्यान्वयन चुस्तदुरुस्त रुपमा नभएको उनको भनाइ थियो ।
शाहले अख्तियार दुरुपयोग अनुसन्धन आयोगलाई राजनीतिक संलग्नता र प्रशासनिक अधिकारीहरूको व्यक्तिगत चाहनाबाट मुक्त गरी स्वतंत्र बनाउनुपर्ने धारणा राखे ।
सुशासनका लागि नागरिक समाजका पुर्व अध्यक्ष पूण्य पौडेलले समाजमा धनाढ्य कहलिएका मानिसहरुका सम्पत्तिको आयश्रोत र विवरण सार्वजनिक गर्नुपर्ने कुरामा जोड दिए ।
उनले करोडौँ र अर्बौँमा भ्रष्टाचार गरेका आरोपी कम जरिवानामा छुट्ने गरेको विषय आपत्तिजनक भएको बताए ।
बैठकमा सहभागी युवाहरुले घुस लिने व्यक्तिको मात्रै गल्ती नभई घूस दिनेको अझ धेरै गल्ती भएको तर्क राखे । पैसा कमाउने धेरै तरिकाहरू छन् तर घुस लिनु गैरकानूनी भएकाले भ्रष्टाचारी सजायको भागेदार हुनैपर्ने बताए ।
भ्रष्टाचारविरुद्ध काम गर्ने संस्थाहरूले तल्लो तहबाटै काम गरी भ्रष्टाचार न्युनीकरण गनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति २०८० पुस ११ गते बुधबार ०५:०९




