साेहि दिन उच्चस्तरीय चिनियाँ टोली पनि आउँदै
भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन्।
भारतीय वायु सेनाको विशेष विमानबाट बिहीबार बिहान १० बजे विदेशमन्त्री जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको भारतीय दूतावास स्रोतले जनाएको छ। उनी दुई दिन नेपाल बस्नेछन्।
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ।
यस्तै, भारतीय विदेश मन्त्री एस जयशंकर आउने दिन चीनबाट एउटा उच्च स्तरीय टोली नेपाल आउने भएको छ । चीनबाट पनि त्यही दिन युनान प्रान्तको चिनियाँ कम्युनिस्ट पार्टीका उपमहासचिव साइ युगाङको नेतृत्वमा टोली नेपाल आउन लागेको स्रोतले जनाएको छ ।
चीनको युनान राज्यबाट आउन लागेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति रामसहाय यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायतसँग छलफल गर्ने तय भएको स्रोतले जनाएको छ ।
उनीहरूको भ्रमण पुस १९ गतेदेखि २१ गतेसम्म हुने बताइएको छ ।
प्रकाशित मिति २०८० पुस १७ गते मंगलबार ०४:०६




