विद्यार्थीको प्रमाणपत्र अवैध हुने जोखिम
पोखरा
गण्डकी विश्वविद्यालयले एउटै व्यक्तिलाई ५ वटा संकायको डिनको जिम्मेवारी दिएको छ ।
गण्डकी विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारीलाई त्यहाँ पढाइ हुने सबै संकायको प्रमुख (डिन)को जिम्मेवारी दिइएको हो ।
अधिकारी विश्वविद्यालयको ‘संगठन तथा शैक्षिक प्रशासन नियमावली, २०७७’ विपरीत सबै संकायको डिनका रुपमा कार्यरत छन् ।
जबकि, गण्डकी विश्वविद्यालयको ऐन २०७६ को दफा ९ अनुसार प्रत्येक संकायको एक जना डिन हुनपर्ने स्पष्ट कानुनी व्यवस्था छ ।
एउटै व्यक्ति ५ वटा संकायको डिन हुँदा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रमाणपत्र नै अवैध हुने खतरासमेत बढेको छ ।
डिन नियुक्तिबारे छानविन गर्न अख्तियारमा समेत उजुरी परेको छ । उजुरीकर्ताले डिनको नियुक्ति कानुनविपरीतमात्रै नभएर विद्यार्थीको भविष्यमा पनि गम्भीर खेलवाड भएको उल्लेख गरेका छन् ।
विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुले जुनसुकै विषय पढे पनि संकायतर्फ विज्ञान तथा प्रविधि उल्लेख गर्नुपर्दा भविष्यमा आफूहरुको कागजात नै अवैध हुने खतरा बढेको बताएका हुन् ।
गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन, सूचना प्रविधि, फार्मेसी, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन र ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल विषयमा पढाइ हुँदै आएको छ ।
विश्वविद्यालयले भने आफूहरुले पढाइरहेको विषय संकाय नभई एउटै संकायअन्तर्गतको फरक–फरक कार्यक्रममात्रै भएको स्पष्टीकरण दिएको छ ।
विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले विश्वविद्यालयमा पढाइ हुने ‘कार्यक्रम’का लागि छुट्टै डिन आवश्यक नपर्ने प्रष्टीकरण दिएका छन् । उनले प्रत्येक कार्यक्रमका लागि छुट्टै डिन नियुक्त गर्न नसकिने बताए ।
प्रकाशित मिति २०८० पुस २० गते शुक्रबार ०३:२१




