पोखरा
पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि प्रथम प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु भएको छ ।
२२ गतेसम्म चल्ने प्रदर्शनीमा एक हजारभन्दा बढी कृषि यन्त्र प्रर्दशनीमा राखिएको छ ।
प्रदर्शनीमा राखिएको बाँदर धपाउने मेसिनमा धेरैले रुचाएका छन् ।
राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले उक्त मेसिन प्रदर्शनीमा राखेको हो ।
बन्दुक आकारमा तयार आविष्कार गरिएको उक्त मेसिनमा निश्चितमात्रामा कार्बोहाइड पानी हालेपछि रासायनिक घुलनले चर्को आवाजसहित पड्किँदा बाँदर तर्सिएर भाग्ने केन्द्रका इन्जिनियर प्रवेश यादव बताउँछन् ।
उनका अनुसार पछिल्लो समय बाँदरले आक्रान्त भएका मध्यपहाडी भेगमा सबैभन्दा बढी माग हुन थालेको छ ।
उक्त मेसिनको मूल्य १ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
मेसिन व्यक्तिगत र संस्थागत रुपमै वितरण गरिरहेको भए पनि स्थानीय तहको सिफारिस अनिवार्य गरिएको अनुसन्धान केन्द्रले जनाएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो ।
कृषि औजार, उपकरण, यन्त्र तथा सेवाहरुको जानकारी दिँदै उत्पादक र उपभोक्तालाई एकै ठाउँमा जोड्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको पोखरा महानगर कृषि तथा पशु विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
प्रदर्शनीका अवसरमा पोखरा महानगरले किसानहरुलाई सघाउन करिब ८५ लाख रुपैयाँबराबरको अनुदानको व्यवस्था पनि गरेको छ ।
प्रदर्शनीमा राखिएका कृषि यन्त्र खरिद गर्दा किसानले ५० प्रतिशतसम्मको अनुदानको व्यवस्था गरेको हो ।
प्रकाशित मिति २०८० पुस २० गते शुक्रबार ०४:४६




