पोखरा
विश्व युवा उद्यमी महासंघ हङकङका अध्यक्ष आकाश बञ्जराले दुई बालिकालाई उच्च शिक्षासम्मको अध्ययन गराउने गरी जिम्मा लिएका छन् ।
बञ्जराले तनहुँकी ८ वर्षीया कृपा थापा र काठमाडौंकी सदिक्षा श्रेष्ठलाई क्याम्पससम्म पढाउने जिम्मा लिएका हुन् ।
२ वर्षकै उमेरमा आमा गुमाएकी कृपा आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित थिइन् ।
कृपा, बुबा तथा कान्छी आमासँग बस्दै आएकी छन् ।
‘आर्थिक अभावकै कारण विद्यालय जानबाट समेत वञ्चित भएको जानकारी आएपछि मैले कृपा र सदिक्षालाई उच्च शिक्षासम्मको अध्ययन गराउने जिम्मेवारी लिएको हुँ,’ बञ्जराले भने ।
अध्ययनका अलावा उनीहरुको अन्य हेरचाहमा समेत सक्दो सहयोग गर्ने बञ्जराले उल्लेख गरेका छन् ।
हङकङमा ह्यान्डीक्राफ्ट व्यवसाय सञ्चालन गर्दै आएका बञ्जरा चेपाङ संरक्षण केन्द्रका सल्लाहकारसमेत हुन् ।
हङकङमा रहेर पनि नेपाल र नेपालीको लागि निरन्तर सहयोग गर्दै आएका बञ्जराले यसअघि जाजरकोट भूकम्पबाट पीडित र प्रभावितहरुको लागि पब्लिक टेलिभिजनले प्रदान गरेको सहयोगमा समेत हातेमालो गरेका थिए ।
बञ्जराले यसअघि पनि मानवसेवा आश्रम गोरखामा रहेका ६४ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरेका थिए भने मानवसेवा आश्रम चितवनलाई खाद्यान्न सहयोग गरेका थिए ।
प्रकाशित मिति २०८० पुस २७ गते शुक्रबार ०४:५५




