थप अनुसन्धान तथा कारबाहीका लागि बागलुङ प्रहरीकाे जिम्मा
पाेखरा ।
इमेज बचत तथा सहकारी संस्थाकी कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका-३ बस्ने २७ वर्षीया लक्ष्मी सेन सुनार रहेका छन् । उनलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । सुनारलाई सनिबारसम्म बागलुङ ल्याइने प्रहरीले जनाएकाे छ ।
पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।
बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये ५ जना पक्राउ परिसकेका थिए ।
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर नेपालीसहित ८ जना फरार रहेकोमा खोजी गर्दा सुनार पक्राउ परेको सीआईबीले जनाएको छ । सहकारी अध्यक्ष नेपाली जेठदेखि फरार छन् ।
मेयर नेपाली र उनकी श्रीमती तिब्बती मूलकी छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भए पनि हालसम्म पक्राउ पर्न सकेका छैनन्।
पक्राउ पुर्जी जारी भएकामध्ये चित्रबहादुर भण्डारी, लालमति रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगरलाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाइसकेको छ ।
प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार ०३:३५




