डम्मर बुढा मगर
बागलुङ ।
चिसो अत्यधिक बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् ।
चिसोका कारण ढोरपाटन नगरपालिका–९ का ६ विद्यालय बन्द भएका हुन् भने एउटा विद्यालय घुम्ती पढाईका लागि बेसी झरेको हो ।
पाखाथरस्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथान स्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मस स्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखे स्थित ढोरबहारा प्राथमिक विद्यालय गत पौष दोस्रो सातादेखि बन्द भएका हुन् ।
जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाईका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले जानकारी दिए ।
पुस १५ गतेबाट बन्द भएका विद्यालय फागुन १ गतेबाट मात्रै संचालन हुने उनको भनाइ छ । हिउँदमा चिसो हुने र विद्यार्थीहरु कठ्याङग्रिएर पढ्न नसक्ने हुँदा बिदा गरिने भन्दै वर्खामा भने बिदा नहुने सापकोटाले बताए । जनवादी आधारभूत विद्यालय अहिले पनि बोबाङबाट संचालन हुने हुँदा बर्खामा बिदा हुने उनले जानकारी दिए । यी विद्यालयहरुमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् ।
सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो सिजनमा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नु परेको बताए । यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरुलाई चिसोबाट बचाउनका लागि विद्यालय बन्द गर्नुको विकल्प नभएको विकको भनाइ छ ।
ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनले बताए ।
प्रकाशित मिति २०८० माघ १६ गते मंगलबार १०:०५




