दाङ
दाङमा श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली छन् ।
उनीमाथि आफ्नी २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको आरोप छ ।
उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार प्रहरी जवान नेपाली नेपालगञ्जबाट श्रीमति आएकी छन् भनेर शनिबार राति कार्यालयबाट बिदा मागेर गएका थिए ।
उनी घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बसेका थिए।
आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिए।
श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा पुगेका थिए।
नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो ।
डिएसपी मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए ।
उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८० माघ २१ गते आइतबार ११:३९




