पाेखरा
भावना रानाभाटले कौशी क्विन पोखरा २०८० को उपाधि जितेकी छिन् । पाेखरा महानगरले आयाेजना गरेकाे प्रतियाेगितामा उनले १८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
विजेता रानाभाट वडास्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै १५ हजार रुपैयाँ, कौशी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन् ।
प्रतियोगितामा पोखरा ७ की हरिकुमारी श्रेष्ठ उपविजेता भएकी छन् । यस्तै पोखरा ८ की कान्तिकुमारी अधिकारी तेस्रो र पोखरा १७ की गायत्री अर्याल सान्त्वना भइन् ।
उनीहरूले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ हात पारे ।
प्रतियोगितामा पाेखरा महानगरभित्र कौशी खेतीमा संलग्न १९ जना कौशी कृषकहरूले भाग लिएका थिए ।
यस्तै शनिबार नै भएको वडास्तरीय कौशी बाली प्रतियोगितामा पोखरा वडा नं ८ प्रथम भएको छ । प्रतियाेगितामा कृषि सञ्जाल पोखरा १७ दोस्रो, पोखरा ७ तेस्रो र पोखरा ९ सान्त्वना भएका छन् ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कौशी करेसा खेतीमा संलग्न कृषकहरूको हौसलाका लागि प्रतियाेगिता आयाेजना गरिएकाे बताए ।
उनले पोखरा नगर क्षेत्रमा कौसी करेसा खेती गर्ने कृषकहरूका लागि मल, बिउ र तालिम लगायत उपलब्ध गराउँदै आएकाे बताए ।
प्रतियोगितामा विजेताहरूलाई पुरस्कार प्रदान गर्दै नगर प्रमुख धनराज आचार्यले तरकारीको आयातलाई प्रतिस्थापन गर्न यस प्रकारको गतिविधि निकै प्रभावकारी हुने दाबी गरे ।
पोखरा महानगरपालिकाको सहरी वडाका करिब ३० हजार घरधुरीमा कौशी खेती गरिँदै आइएकाे मेयर आचार्यले जानकारी दिए ।
‘यसले ३० हजार परिवारलाई विशेष परिस्थिति बाहेकको अवस्थामा तरकारीमा आत्मनिर्भर बनाएको छ नै अर्ग्यानिक उत्पादनको प्रयोगले स्वास्थ्यमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको छ’, उनले भने ।
कृषिजन्य उत्पादनमा महानगरपालिकालाई आत्मनिर्भर बनाउने कार्यमा कृषकहरूको उल्लेखनीय भूमिका रहने बताउँदै उनले कृषियोग्य भूमिलाई बाँझो नराख्न र सम्भव भएसम्म कौशी र करेसाहरूमा समेत तरकारी लगाउन आग्रह गरे ।
महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कौसी करेसा खेतीले पोखराको आर्थिक विकासमा मत्वपुर्ण टेवा पुगेको बताइन् ।
क्लिन सिटी ग्रिन सिटीको अवधारणालाई सार्थक बनाउन कौसी करेसा कृशहरूको भूमिका उल्लेखनीय रहने उनकाे भनाइ थियाे ।
प्रकाशित मिति २०८० माघ २८ गते आइतबार १०:५४




