पोखरा।
यात्रुहरूलाई लुट्ने मनसायले नशालु पदार्थ लिएर हिंड्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -९ बसपार्कबाट नशालु पदार्थ मिसावट भएको एक प्याकेट लड्डुसहित प्रहरीले भारतीय नागरिकलाई पक्राऊ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला संग्रापुर बस्ने ४६ वर्षीय दिलिप पटेल रहेका छन्।
वडा प्रहरी कार्यालय बैदामका अनुसार पटेलले सार्वजनिक सवारी साधनमा हिँड्ने यात्रुहरुलाई लठ्याई लुटपाट गर्ने तथा नशालु पदार्थ लिएर हिंड्ने गरेको भन्ने जानकारी पश्चात प्रहरीले गरेको सुक्ष्म निगरानीका क्रममा उनलाई चेकजाँच गर्दा मंगलबार नशालु पदार्थ मिसावट भएको एक प्याकेट लड्डुसहित पक्राउ गरेको हो।
पटेलले यसअघि पनि यात्रुहरूलाई नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने गरेको खुलासा भएको छ।
हाल उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वका कसुरमा ३ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
प्रकाशित मिति २०८० फागुन ३ गते बिहीबार ०९:५८



