२०८३ साउन २१ गते बिहीबार

दादुरा–रुवेला विरुद्धको खोप अभियान आजदेखि

दादुरा–रुवेला विरुद्धको खोप अभियान आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १३ गते आइतबार ०९:४०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो ।

गण्डकीका साढे २ लाख बढी बालबालिकालाई खोप दिइने

पोखरा ।

बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो ।

ति जिल्लाका ९ महिनादेखि १५ वर्ष मुनिका ५७ लाख बालबालिकालाई दादुरा –रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको खोप शाखाले जनाएको छ ।

तराईका भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा –रुबेलाको खोप लगाइने र बाँकी जिल्लामा ८ महिना देखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ ।

पछिल्लो वर्ष दादुराको महामारी विभिन्न जिल्लाहरूमा फैलिएको हुँदा खोप अभियान सन्चालन गर्न लागेको महाशाखाले जनाएको छ ।

सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।

गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए।खोप अभियान आजदेखि सुरु भइ ७ चैतसम्म सञ्चालन हुनेछ ।

गाउँ–टोलअनुसार खोप अभियान सञ्चालन हुने दिन फरक फरक हुने पनि महाशाखाले जनाएको छ ।

अभियानमा यो खोप नियमित खोप केन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।

यता गण्डकीका साढे २ लाख बढी बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप दिइने भएको छ ।

गण्डकीका मनाङ र मुस्ताङ बाहेक ११ जिल्लाका २ लाख ५३ हजार ३६ बालबालिकालाई खोप दिन लागिएको हो । नवलपुरका मात्रै १ लाख २२ हजार बालबालिकालाई खोप दिइनेछ ।

८ जिल्लामा ९ महिना पूरा गरेका र ५ वर्ष उमेर समूहका सबै बालबालिकालाई दादुरा रुबेलाको खोप दिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. हेमन्त शर्माले जानकारी दिए ।

प्रकाशित मिति २०८० फागुन १३ गते आइतबार ०९:४०

हजुरको प्रतिक्रिया