पोखरा ।
नयाँ कुर्ची र टेबुल हालेर नयाँ स्वरुपमा चिटिक्क पारिएको गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ ।
गत असोज ११ गते अन्त्य भएको अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक अधिवेशन सुरु हुन लागेको हो ।
संसदको पुराना फेरेर नयाँ स्वरुपका कुर्ची टेबल हालिएको छ ।
करिब १४ लाख रुपैयाँ बराबरको कुर्ची टेबल फेरेर बनाइएको भवनमा हिउँदे अधिवेशन बोलाइएको छ ।
कार्पेट पनि नयाँ फेरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
सरकारले बिजनेस दिन नसकेकै कारण ६ महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको हो ।
विधायन अधिवेशनका लागि सरकारले केही विधेयक तयार पारेको जनाएको छ भने प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।
यी दुबै विधेयक संसदमा पेश गर्ने तयारी छ ।
यसैगरी विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश हुने कार्यसूची तय भएको संसद सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
सरकारले बिजनेस नदिएकै कारण संसद चल्न नसकेको प्रमुख प्रतीपक्ष दल नेकपा एमालेले पनि आवाज उठाउँदै आएको छ ।
६ महिनादेखि सांसद नचल्दा सांसदहरुसमेत कामबिहीन बनेका थिए ।
पछिल्लो समय समितिका बैठक भने बसिरहेकाले राहत मिलेको सार्वजनिक लेखा समितिका सभापति सुधीर पौडेलको भनाइ छ ।
प्रकाशित मिति २०८० फागुन १६ गते बुधबार १०:३६




