पोखरा महानगरपालिकाको सहरी योजना आयोगले तयार पारेको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्रको मस्यौदा सम्बन्धमा छलफल गरिएको छ ।
शुक्रबार शहरी योजना आयोग र सार्वजनिक निजी संवाद मञ्चले सरोकारवालासँग छलफल गरेको हो ।
पोखरा महानगरपालिका, अकाउन्टबिलिटि ल्याब नेपाल र व्यवसायिक प्रवद्र्वन केन्द्रको समन्वयमा निजी क्षेत्रका सरोकारवालाहरुसँग भएको अन्तरक्रियामा प्रारम्भिक मस्यौदा शहरी योजना आयोगका सदस्य होमनाथ गैरेले प्रस्तुत गरे ।
गण्डकी प्रदेश उद्योग परिषद्का सदस्य गणेशबहादुर थापाले योजनाको घोषणापत्र सबैले बुझ्ने सरल भाषामा हुनुपर्नेमा जोड दिए ।
लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले श्रम, सीप उपयोग गरी व्यवसायीकरण गर्न सकिने नीति निमार्ण गर्न आवश्यक रहेको बताइन् । शहरी गरिबी न्युनिकरण गर्न सरकारले व्यवसायीमैत्री वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।
नेपाल अन्तराष्ट्रिय फोरमका अध्यक्ष प्राध्यापक डा. विकास केसीले शैक्षिक क्षेत्रमा बेथिति फैलिइरहेकाले विद्यालयहरुको अनुगमन गर्नुपर्ने बताए ।
नेपाल युवा उद्यमी मञ्चका सदस्य अशोक खड्काले ‘बुक फ्रि फ्राइडे’को अवधारणा पोखरामा पनि सुरु गर्नुपर्ने सुझाव दिए । युवालाई उद्यमी बनाउन विद्यालयस्तरबाटै विद्यार्थीलाई तालिम दिनुपर्ने उनको भनाइ थियो ।
पोखरा पर्यटकीय सहर भएकाले प्राकृतिक सुन्दरतालाई नोक्सान नपुग्नेगरि भवन मापदण्ड बनाउनुपर्ने पर्यटन विज्ञ डा. रामजी शर्माले बताए ।
सहभागी युवा दीपा भण्डारीले स्वास्थ्य र यातायात सेवा प्रविधिमैत्री बनाउनुपर्ने धारणा राखिन् ।
गण्डकी विश्वविद्यालयका डीन कपिल अधिकारीले पोखरालाई बालमैत्री शहरको रुपमा स्थापित गराउनुपर्ने बताए । अनुसन्धानको विधामा सर्भे, तथ्याङ्क संकलन गर्नुपरेमा यस्ता कामको जिम्मेवारी विश्वविद्यालयलाई दिनु उपयुक्त हुने बताए ।
शहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेले सुझावहरुलाई मनन गर्दै योजना कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार ०३:२४




