स्टेप बाइ स्टेप माध्यमिक विद्यालयका विद्यार्थीले तयार पारेको शैक्षिक सामाग्रीको प्रदर्शनी गरिएको छ ।
विधार्थीले पुस्तकमा पढेको सिकाइलाई व्यवहारमा उतार्न विद्यालयले शुक्रबार शैक्षिक सामाग्री प्रदर्शनी गरेको हो ।
विज्ञान, प्रविधि, सामाजिक, भाषा, साहित्य, गणित र कलाका विधामा विद्यार्थीले बनाएका १ सय बढी सामाग्री प्रदर्शन गरिएको छ । विधार्थीले आफ्नो रुची अनुसार बनाएर ल्याएका सामाग्री प्रदर्शनीमा राखियो ।

विद्यार्थीले प्रदर्शनीमा रोबर्ट, केबुलकार, सोलार सिस्टम, जेसिबी, सेनेटरी प्याड डिसपेन्सर लगायतका सिर्जनशील सामाग्री बनाएका छन् । विद्यार्थीले तयार पारेको पेन्टिङ बिक्रीका लागि राखिएको थियो ।
विद्यालयकी संस्थापक प्राचार्य निर्मला बरालले विद्यार्थीले कक्षामा आर्जन गरेको ज्ञानलाई व्यवहारमा उतार्न प्रदर्शनी आयोजना गरेको बताइन् । आफ्ना छोराछोरीको सिर्जनशीलता अभिभावकलाई देखाउने अवसर भएको उनको भनाइ छ ।
विद्यार्थीले साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेको दश जोड २ संयोजक रघुनाध वाग्लेले जानकारी दिए । उनका अनुसार अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको छ ।
प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार ०७:२८




