पोखरा
गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।
बुधबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।
माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै गण्डकीका मुख्यमन्त्रीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबारमात्रै माओवादीबाट सरकारमा सहभागी २ मन्त्रीको जिम्मेवारी खोस्दै बर्खास्त गरेका थिए ।
माओवादीबाट सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेकी सुशिला सिंखडा र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्दै पाण्डेले आफ्नै मातहत मन्त्रालय राखेका हुन् ।
बैशाख १४ गते नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
७ सदस्यीय मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्रका २ जना मन्त्री बनेका थिए ।
चुमानले नयाँ सरकार गठनबन्धनका लागि छलफल भइरहेको बताए ।
‘नयाँ सरकार बनाउने विषयमा सबै सबैसँग छलफल भइरहेको छ । राप्रपा पनि सकारात्मक देखिन्छ । तर, उनीहरुले पनि माथिको निर्णय कुरेका छन्’, उनले भने ।
गण्डकीमा एमाले माओवादी लगायत साना दल मिलेर बनेको गठबन्धनले सरकार बनाउन सम्भव छैन ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ।
तर, नेकपा एमालेको २२ र माओवादी केन्द्रको ७ जना सांसद छन् । सभामुख नेकपा माओवादी केन्द्रका भएकाले २९ सांसदले मात्रै मुख्यमन्त्रीलाई समर्थन जनाउनेछन् ।
गण्डकीमा राप्रपाको २ सिट र एकीकृत समाजवादीको १ सिट छ ।
हाल गण्डकी सरकारको नेतृत्व गरिरहेको कांग्रेसको २७ सिट छ ।
प्रकाशित मिति २०८० फागुन २३ गते बुधबार ०१:११




