शुक्रबार बिहानैदेखि शैक्षिक संस्था, उद्योग, कलकारखाना, यातायात पूर्णरुपमा ठप्प पार्ने चेतावनी
पाेखरा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार गण्डकी प्रदेशका पाँच जिल्लामा बन्दको आह्वान गरेको छ । म्याग्दी जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) को निधन सरकारको लापर्वाहीका कारण भएको भन्दै बन्द आह्वान गरिएको स्रातले जनाएको छ ।
पार्टीले बन्द घोषणा गरेको जिल्लाहरुमा मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र मनाङ रहेका छन् । बन्द निकै कडा पारिने बताइएको छ । शुक्रबार बिहानैदेखि शैक्षिक संस्था, उद्योग, कलकारखाना, यातायात पूर्णरुपमा ठप्प हुने बताइएको छ ।
पार्टीका जनसरकार प्रमुख जगतको मंसिर २९ गते उपचारको क्रममा पोखरामा निधन भएको थियो । उनी अभद्र चालचलन मुद्धामा मंसिर ३ गते पर्वत कारागार चलान भएका थिए । यसअघि उनी म्याग्दी कारागारमा थिए ।
म्याग्दीबाट पर्वत आएको तीन सातापछि नै उनको निधन भएको हो । एक्कासी ढलेका जगतलाई कारागार प्रशासनले तत्काल उपचारका लागि जिल्ला अस्पताल पर्वत पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पतालले पोखरा रिफर गरेको थियो । उनको उपचारकै क्रममा पोखरामा निधन भएको थियो ।
पर्वत कारागार प्रमुख तिला श्रेष्ठका अनुसार जगतमा कुनै रोग थिएन । ‘उहाँ एक्कासी ढल्नुभयो । हामीले तत्कालै जिल्ला अस्पताल पुर्याएका थियौँ । अस्पतालले पोखरा रिफर गर्न भनेपछि थप उपचारका लागि पठाइएको हो । त्यसपछिको गतिविधि कास्की कारागारले नै हेरेको छ’, उनले भनिन् ।
प्रकाशित मिति २०७७ पुस २ गते बिहीबार ०५:०९




