पोखरा
सेती नदीमा हाम फालेर वेपत्ता भएका बालकलाई खोज्न सेती नदीको बाँध खोलिने भएको छ । बुधबार सेती नदीको बाँध खोलेर प्रहरीले खोजी गर्ने भएको हो ।
फागुन १८ गतेदेखि वेपत्ता कास्कीको पोखरा महानगरपालिका–११ का १५ वर्षीय सुगम बास्तोला नदीपुरको पूरानो पुलबाट हाम फालेर वेपत्ता छन् ।
सीसिटिभि फुटेजमा सुगमले सेतीमा हाम फालेको देखेपछि यसअघि पनि बाँध खोलेर खोजी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।
उनका अनुसार नेपाल प्रहरीकोे उद्धार टोलीले सेतीमा सुगमको खोजी गरेको थियो । फागुन २२ गतेपनि सेती नदीको बाँध खोलेर वहाव बढाएर खोजी गर्दा फेला नपरेको उनको भनाइ छ ।
‘आफन्तको आग्रहपछि फेरि नदीको बाँध खोलेर भोलि खोजि कार्य हुँदैछ’, प्रहरी निरीक्षक रानाले भने ।
बुधबार दिउँसो पोखराको दीपस्थित ड्याम खोलेर सेतीको वहाव बढाएर खोजी हुनेछ ।
दिउँसो १ बजेदेखि नदीमा पानीको वहान बढ्ने भएकाले सचेत रहन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।
‘उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिन्छ’, प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।
यसअघि पनि पटक पटक सेतीको बाँध खोलेर पानीको वहाव बढाइ वेपत्ता खोज्ने काम भइरहेको छ ।
प्रकाशित मिति २०८० चैत १४ गते बुधबार ०२:४५




