२०८३ साउन २१ गते बिहीबार

गाउँमा बस्नेलाई वडाकाे निःशुल्क स्वास्थ्य बीमा

गाउँमा बस्नेलाई वडाकाे निःशुल्क स्वास्थ्य बीमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १८ गते आइतबार ०९:२४

पाेखरा- १३ ले वडाका ४० परिवारलाई १ लाख बराबरको निःशुल्क स्वास्थ्य बीमा गरिदिएकाे हाे ।

पोखरा ।

वडा कार्यालयले नै निःशुल्क स्वास्थ्य बीमा गरिदिएपछि पोखरी स्वाँराका भीम बहादुर दमै खुसी छन् ।

पहिलो पटक स्वास्थ्य बीमा गरेका भीम खुसी हुँदै भन्छन-`गाउँमा बस्नेलाई पनि सरकारले हेर्दो रहेछ । गाउँमा बस्नेलाई पनि सरकारले देख्न थालेको उनकाे भनाई छ ।

पोखरा महानगरपालिका वडा नम्बर १३ ले ग्रामीण क्षेत्रमा बस्नेलाई स्वास्थ्य बीमा गरिदिएको हो । थातथलो नछोडी गाउँमै बस्दै आएका नागरिकको बीमा गरिएको वडा कार्यालयले जनाएको छ ।

पोखरी स्वाँराकै सरस्वती घले पनि निःशुल्क स्वास्थ्य बीमा कार्ड पाएर दङ्ग छिन् । अब उनको १ लाखसम्म उपचार गर्न आफूले खर्च गर्नुपर्दैन । `थोरै पैसा भए पनि बीमा गरेको थिइनँ । वडाले बीमा गर्दियो, उपचार गर्न सजिलो हुने भो,´ उनले भनिन् । स्वास्थ्य बीमाको टोलीसहित गाउँ पुगेका वडाध्यक्ष किरण बरालले उनीहरूलाई बीमा कार्ड हस्तान्तरण गरेका हुन् ।

वडाभित्रका विजयपुर, खामघले, डिगाउँ र पोखरी स्वाँरामा स्वास्थ्य बीमा गरिएको बरालले बताए । उनका अनुसार ४० परिवारलाई १ लाख बराबरको बीमा निःशुल्क गरिएको छ । पूर्वाधारकाे विकास मात्र विकास नभएर वडावासीका विभिन्न समस्याकाे समाधान खाेज्नुपनि विकास भएकाे वडा अध्यक्ष बरालले बताए ।

`गाउँमा बस्नेहरूलाई वडाले गरेको सम्मान हो यो । कतिपयले रोग लागे पनि पैसा नभएर उपचार गराएका छैनन्,´ उनले भने, `बीमा भएपछि त रोग लुकाएर बस्न परेन नि । आफ्नो स्वास्थ्यप्रति सचेत पनि हुन्छन् ।´ जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा भन्ने नारा सहित वडा कार्यालयले बीमा गरिदिएको हो ।

प्रकाशित मिति २०८० चैत १८ गते आइतबार ०९:२४
हजुरको प्रतिक्रिया