२०८३ साउन २१ गते बिहीबार

बाग्लुङमा तीन वर्षमा ५५ दुर्घटना: ४० जनाको मृत्यु

बाग्लुङमा तीन वर्षमा ५५ दुर्घटना: ४० जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २० गते मंगलबार ०४:३३

तीन वर्षको तुलनामा यस वर्ष थोरै दुर्घटना भए पनि मृत्यु र घाइते हुनेको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १२ दुर्घटनामा ४८ जना घाइते

 

बागलुङमा हरेक वर्ष दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यस वर्ष १६ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १२ दुर्घटनामा ४८ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा २३ वटा सवारी साधान दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने २९ जना घाइते भएका थिए ।

गत आर्थिक वर्ष २०७९÷०८० मा २० वटा दुर्घटना भएका थिए । दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष दुर्घटना झिनो संख्यामा घटे पनि मृत्यु र घाइते हुनेको संख्या भने बढि रहेको छ ।

पछिल्लो तीन वर्षमा बागलुङमा दुर्घटनामा परि ४० जनाले ज्यान गुमाएका छन् भने ११० जना घाइते भएको तथ्यांकमा उल्लेख छ । यस अवधीमा ५५ वटा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन निउरेले जानकारी दिए । उनको अनुसार दुर्घटनामा ४९ सवारी साधानमा क्षति पुगेको छ ।

ट्राफिकले अटेरी गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने ३८ हजार ६१६ सवारी साधानलाई कारबाही गरि दुई करोड ६९ लाख तीन हजार राजश्व संकलन गरेको छ ।

वर्षेनी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको ट्राफिक प्रमुख निउरेको भनाइ छ । उहाँले चालकको लापरबाही र अप्ठ्यारा सडकको कारण दुर्घटना हुने गरेको बताए ।

दैनिक ग्रामीण सडकमा सयौँ सवारी साधान गुढ्ने तर ति सडक व्यवस्थित नहुँदा बढी दुर्घटना हुने गरेको उनी बताउँछन् । तीन वर्षको तुलनामा यस वर्ष थोरै दुर्घटना भए पनि मृत्यु र घाइते हुनेको संख्या बढी रहेको निउरेको भनाइ छ ।

प्रकाशित मिति २०८० चैत २० गते मंगलबार ०४:३३
हजुरको प्रतिक्रिया