पोखरा
सूर्यदर्शन सहकारीका बचतकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पोखरा आएका ओलीलाई सहकारीका बचतकर्ताले दोषीलाई कारबाही गर्दै रकम फिर्ताको मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
नेकपा एमाले कास्कीको ११ औैं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गरेर निस्कने क्रममा पोखरा सभागृहमा बचतकर्ताको तर्फबाट सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले ज्ञापनपत्र बुझाए ।
सहकारीका अध्यक्ष जिबी राईलाई पक्राउ गरी न्याय दिलाइदिन ओलीलाई ज्ञापनपत्र बुझाएको संयोजक श्रेष्ठले बताए । ‘सहकारीका सञ्चालक जीबी राई भन्ने व्यक्तिको विषयमा सिंगो राज्य, प्रहरी प्रशासन निकम्मा बनिरहेको अवस्था छ । होइन भने तपाईको सम्पूणर् राजनीतिक जीवनको अनुभवको आधारमा तपाईले चलाएको सत्ता शासनको आधारमा भन्नुपर्दा केही हामी पीडितले न्याय पाउनुपर्ने होइन र ?’ ज्ञापनपत्रमा भनिएको छ ।
सहकारी प्रकरणमा एमाले मौन रहेकोमा जवाफ मागेको श्रेष्ठले बताए । राजनीतिक दल र राज्यसत्ताले चाहेमा एक जना व्यक्तिलाई जहाँ भएपनि झिकाएर कानूनी दायारमा ल्याउन सक्ने उनको भनाइ छ । सूर्यदर्शन सहकारी प्रकरणमा फरार रहेका १४ जनालाई पक्राउ गर्न अनुरोध गरेको श्रेष्ठले जानाकारी दिए ।
ओलीले ज्ञापनपत्र बुझेपछि पीडितको पक्षमा काम गर्ने आश्वासन दिए । ‘ज्ञापनपत्र बुझेपछि हुन्छ हुन्छ म गर्छु भन्नुभो’, श्रेष्ठले भने, ‘हुन्न त कस्ले भनेका छन् र काम पो हुदैन ।’
यसअघि चैत ४ गते पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । त्यतिबेला प्रधानमन्त्रीले पीडितलाई न्याय दिलाउने आश्वासन दिएका पनि हुन् । तर, पीडितले न्यायको अनुभूत गर्नेगरी काम भएको छैन ।
सहकारीका बचतकर्ताले यो विषयलाई लिएर माघ ९ गते पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए । यस्तै, माघ १२ गते तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि पीडित बचत फिर्ताको माग राख्दै समस्या सुनाए । उनीहरुले पनि समस्या समाधान गर्ने वचन दिएका थिए ।
ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब कुम्लाएको छ ।
पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सूर्यदर्शन सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको खुलेको छ । १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।
सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि हालसम्म ५ जना मात्रै पक्राउ परेका छन् ।
पीडित बचतकर्ताले माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिाछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध पूरक जाहेरी दिएका थिए ।
नेपाली कांग्रेसले पछिल्लो समय सदनमा रविको संग्लनताबारे छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै आइरहेको छ । प्रधानमन्त्रीसँगै नेपाल प्रहरीका आइजीपी बसन्त कुवँरले सूर्यदर्शन सहकारी प्रकरणमा रविको संग्लन नभएको भन्दै चोख्यादिएका छन् । कांग्रेस अडानबाट टसमस भएकोे छैन ।
प्रकाशित मिति २०८० चैत २३ गते शुक्रबार ०४:१६




