पोखरा
कास्की प्रहरीले दुई दिनमा झन्डै १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
शनिबार पोखरा महानगरपालिका–२७ तालचोकस्थित पृथ्वी राजमार्गमा सवारी चेकजाँचको क्रममा ९ किलो बढी गाँजा बरामद भएको हो ।
पोखरातर्फ आँउदै गरेकोे ग १ च ५१३१ नम्बरको कार खोलेर हेर्दा डिक्कीमा लुकाएर राखिएको ९ किलो ८ सय ग्राम गाँजा बरामद भएको हो ।
कार चालक गोरखाको सुलिकोट गाउँपालिका–४ घर भइ हाल गोरखा नगरपालिका–४ बतासे बस्ने २४ वर्षीय मदन नेपाली पक्राउ परेका छन् ।
कारसहित गाँजा र मोबाइल बरामद गरिएको छ । जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपेर अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, शुक्रबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ मौजाबाट २ जना युवक पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३७ वर्षीय हेमन्त भट्टराई र पोखरा–१८ सराङकोटका २५ वर्षीय विनोद थापालाई पक्राउ गरिएको हो ।
उनीहरु सवार ग १४ प २४३ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा ४ किलो १ सय ग्राम गाँजा प्रहरीले फेला पारेको हो । नगद १० हजार ५ सय रुपैयाँ र २ थान मोबाइल पनि बरामद भएको छ ।
जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर लागु औषध सम्बन्धि मुद्वामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८० चैत २५ गते आइतबार ०७:५६
हजुरको प्रतिक्रिया




