२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय समृद्धि र सुशासनका निम्ति सबै जुटौँः डिल्लीराज भट्ट

राष्ट्रिय समृद्धि र सुशासनका निम्ति सबै जुटौँः डिल्लीराज भट्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १ गते शनिबार १०:१०

नयाँ उमंग र उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रिय समृद्धि र सुशासनका निम्ति जुट्न पनि उनले अनुरोध गरेका छन् ।

पोखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष २०८१ सालको शुभकामना व्यक्त गरेका छन् ।

भट्टले शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको शुभकामना दिएका हुन् ।

‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ । त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो,’ भट्टले भनेका छन् ‘राष्ट्रको आजको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको छ ।’

नयाँ उमंग र उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रिय समृद्धि र सुशासनका निम्ति जुट्न पनि उनले अनुरोध गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ – ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वाेपरी लक्ष्य रहेको छ । यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक छ ।

अर्थतन्त्रमा देखिएको संकट समाधानका लागि सबै पक्ष मिलेर अहम् भूमिका निर्वाह गर्नुपर्ने पनि शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् ।

‘सबै राजनैतिक दलकाबीच दृढ संकल्प आवश्यक रहेको छ । मुलुकलाई अगाडि बढाउन दलहरूका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुनेमा विश्वस्त छु । शुभकामना सन्देशमा भनिएको छ, लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित मिति २०८१ वैशाख १ गते शनिबार १०:१०
हजुरको प्रतिक्रिया