२०८३ साउन २१ गते बिहीबार

पोखरामा सटर कवल बहाल र बक्यौता राजश्व असुलीको अध्ययन गर्न समिति गठन

पोखरामा सटर कवल बहाल र बक्यौता राजश्व असुलीको अध्ययन गर्न समिति गठन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १ गते शनिबार ०२:४०

पोखरा महानगरपालिकामा सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ ।

पोखरा
पोखरा महानगरपालिकामा सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ । महानगरपालिकाको २८औँ कार्यपालिका बैठकले महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल, वडा नम्ब। ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र वडा नम्बर १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगी र समितिको सदस्य सचिवमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया छन् ।

समितिलाई महानगरको स्वामित्वमा रहेका सटरहरूको अवस्था, बहाल रकम असुलीको अवस्था र बक्यौता समेतको अध्ययन गरी प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । पछिल्लो समय महानगरको स्वामित्वमा रहेका सटरहरूका विषयमा सार्वजनिक रूपमा गुनासो आएकाले यथार्थ अवस्था पत्ता लगाई यसलाई नियमन तथा निगरानी गर्नुपर्ने भएकाले अध्ययन समिति गठन गरिएको प्रमुख आचार्यले सुनाए ।

यस्तै महानगरपालिकाले २०७५ सालदेखि उठ्न बाँकी बक्यौता राजश्वका विषयमा अध्ययन गर्न एक उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालको अध्यक्षतामा गठित समितिको सदस्यमा महानगरको सुशासन समितिका संयोजक समेत रहेका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, वडा नम्बर  २० का वडाध्यक्ष गङ्गा बहादुर केसी र एक चार्टर एकाउन्टेन्ट तथा सदस्य सचिवमा महानगरको सूचना अधिकारी तथा उपसचिव कृष्ण तिवारी छन् ।

समितिलाई समग्र महानगरपालिकाको कार्यक्षेत्रभित्र २०७५ सालदेखि हालसम्म राजश्व सङ्कलनको अवस्था, बक्यौता असुल उपरको अवस्था र राजश्व सङ्कलनमा भए गरेका समस्याहरूको बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । समितिलाई २ महिना्भित्र समग्र अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यपालिका मार्फत कार्यादेश दिइएको नगरप्रमुख आचार्यले जानकारी दिए ।

प्रकाशित मिति २०८१ वैशाख १ गते शनिबार ०२:४०
हजुरको प्रतिक्रिया