२०८३ कात्तिक १० गते सोमबार

काठमाडौंमा विद्यार्थी महोत्सव आजदेखि

काठमाडौंमा विद्यार्थी महोत्सव आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १ गते मंगलबार ११:१४

वाइपी आचार्य,अनलाइनखबर र कान्तिपुरका सम्पादकले सहजिकरण गर्ने सत्रमा सिके राउत, एनपी साउद, शंकर पाेखरेल, प्रदीप पाैडेल, मानषी यमी, याेगेश भट्टराईलगायतले बाेल्नेछन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने

काठमाडौं ।

काठमाडौंमा आजदेखि विद्यार्थी महोत्सव हुँदैछ ।

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने भन्दै विद्यार्थी महोत्सवको आयोजना गरेको हो । विद्यार्थी आन्दोलनको छवि सुधार गर्ने र नयाँ दिशा दिने उद्देश्यले महोत्सवमार्फत् बहस गर्ने प्रयास गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।

महोत्सवको पहिलो दिन मंगलबार तीन वटा सत्र हुँदैछन् । महोत्सवको दिउँसो १२ बजे नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


महोत्सवअन्तर्गत विभिन्न १९ वटा सत्रहरू हुँदैछन् । मंगलबार विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभार विषयमा माधव ढुंगेल, गुरुप्रसाद घिमिरे र लेखनाथ न्यौपानेबीच बहस हुदैछ । बिहान ९ बजेदेखि ११ बजेसम्म हुने सो सत्रमा वाइपी आचार्यले सहजीकरण गर्नेछन् ।

दोश्रो सत्र बिहान ११ः३० बजेदेखि १ः३० बजेसम्म सञ्चालन हुनेछ । कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले सहजीकरण गर्ने सो सत्रमा एमाले महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता एनपी साउद र जनमत पार्टीका अध्यक्ष सिके राउत वक्ता छन् ।

मंगलबारको तेश्रो सत्रमा कसरी सम्भव छ राजनीतिक स्थायित्व ? विषयक छलफल सत्रमा एमाले सचिव योगेश भट्टराई, कांग्रेस नेता प्रदीप पौडेल र माओवादी केन्द्रका मानुषीयमी भट्टराईले बोल्नेछन् । सो सत्रमा अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले सहजीकरण गर्नेछन् ।

प्रकाशित मिति २०८१ जेठ १ गते मंगलबार ११:१४
हजुरको प्रतिक्रिया