२०८३ साउन २१ गते बिहीबार

प्राइम सहकारीको बदमासीः साढे एक अर्ब बढी हिनामिना, ८ जना पक्राउ

प्राइम सहकारीको बदमासीः साढे एक अर्ब बढी हिनामिना, ८ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १ गते मंगलबार ०७:३४

पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साढे एक अर्बभन्दा बढी रकम हिनामिना गरेको पाएको छ ।

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साढे एक अर्बभन्दा बढी रकम हिनामिना गरेको पाएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अनुसन्धानले सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख ८ हजार एक सय ४२ रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको हो । सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय कास्कीलाई मंगलबार पत्र पठाएको हो ।

पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार नै सहकारीका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, व्यवस्थापन निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणी पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पुर्व कोषाध्यक्ष कुलदिप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवम् सल्लाहकार मानबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । थप अनुन्धान भइरहेको शर्माले बताए ।

यस्तै सहकारीविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय, कास्कीले बचतकर्तालाई आग्रह गरेको छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले निक्षेपकर्ताका बचत रकम फिर्ता नगरी रकम हिनामिना एवं ठगी गरेको पाइएको भन्दै प्रहरीले उजुरी दिन आग्रह गरेको हो ।

मंगलबार कार्यालयले एक सूचना जारी गर्दै सहकारीका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको भन्दै जेठ २० गतेभित्र उजुरी दिन प्रहरीले आग्रह गरेको छ । सहकारीका सदस्य र बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, पासबुक, भौचर, मुद्धति प्रमाणपत्रलगायतको परिचय खुल्ने प्रमाणपत्रसहित उजुरी दिन आग्रह गरेको हो ।

कास्की प्रहरीले सूचना प्रकाशित गरी सहकारी ऐन, २०७५ बमोजिम अनुसन्धान गरी दिनु हुन सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराको पत्र साथ कागजात प्राप्त भई दर्तासमेत भई अनुसन्धानको क्रममा रहेको जनाएको छ ।

 

प्रकाशित मिति २०८१ जेठ १ गते मंगलबार ०७:३४
हजुरको प्रतिक्रिया