पोखरा
देशकै दोस्रो ठूलो पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । विश्वविद्यालय स्थापनाको २६ वर्षपछि शिक्षण अस्पताल सञ्चालनमा ल्याएको हो ।
तीन वर्ष पहिले अस्पताल सञ्चालनको अनुमति लिएको विश्वविद्यालयले पोखरा महागनरपालिका–३० खुदीमा केन्द्रीय कार्यालयसँगै अस्पताल सञ्चालन गरेको छ । गण्डकी प्रदेश सरकारले अनुमति दिएको एक सय शैय्या क्षमताको अस्पताल मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । मुख्यमन्त्री अधिकारीले अस्पताल सञ्चालनसँगै भरपर्दो र विश्वसनीय सेवा दिनुपर्ने बताए ।
अब तीन शैय्याको अस्पताल सञ्चालन गरेर स्नातकको अध्ययन थाल्न उनको सुझाव छ । ‘तीन सय शैय्याको अस्पताल नभइकन स्नातक तह पढ्न पाउदैनन् मेडिकल साइन्समा एमबिबिएस भन्छौं । त्यसकारण अब दुई वर्षमा त अस्पताल सय बेडको बनाउनुभो । तीन सय बेडको बनाउन बाँकी दुई वर्षमा तपाईहरु जसरी लाग्नुहुन्छ पूरा साथ हाम्रो रहन्छ’, मुख्यमन्त्री अधिकारीले विश्वस्त पारे ।
उनले लेखनाथमा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सरुवा तथा संक्रामक रोग अस्पातलसँग मिलेर एमबिबिएसको पढाइ थाल्न सक्ने बताए । मुख्यमन्त्री अधिकारीले स्वास्थ्योपचारका लागि आफ्नो प्राथमिकता सरकारी अस्पताल नै रहने दाबीसमेत गरे ।
विश्वविद्यालयका विद्यार्थीले अन्य अस्पताल धाएर इन्र्टनसीप गर्नुपर्ने अवस्थाको अन्त्य मात्रै नभएर लेखनाथ क्षेत्रका जनाताको स्वास्थ्य सेवामासमेत टेवा पुग्ने विश्वविद्यालयको दाबी छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्यालले नेपाल सरकारले अन्य विश्वविद्यालयको तुलनमा पोखरा विश्वविद्यालय सञ्चालनमा फरक नीति अवलम्बन गरेको असन्तृष्टि पोखे ।
उनका अनुसार विश्वविद्यालयलाई उपलब्ध गराउने अनुदान घटाइएको छ । अन्य विश्वविद्यालयले खर्चको ८० प्रतिशत अनुदान पाउछन् भने पोखराले १० प्रतिशत मात्रै अनुदान पाउने अर्यालले बताए । उनले भने, ‘जनताको सहभागितामा सञ्चालन गर्ने भनेको छ । अरु विश्वविद्यालयले अनुदान बढी पाउछन् । मेरो निवेदन छ अनुदान यो विश्वविद्यालयलाई पनि बढाइनुपर्छ ।’
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले २०७९ भदौबाट बहिरंग सेवा सुरुआत गरेको हो । बालरोग, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट प्रदान भइरहेको निर्देशक दीपेन्द्रकुमार यादवले बताए । अस्पतालमा हाल ४० कर्मचारी कार्यरत छन् । ६ जना कन्सल्टेन्ट डाक्टर, मेडिकल अफिसर ६ जना र डेन्टल अफिसर लगायत प्रयोगशाला तर्फ जनशक्ती व्यवस्थापन गरिएको अस्पताल प्रसाशनले जनाएको छ ।
२४ सैं घण्टा आकस्मिक सेवा दिइरहेको अस्पतालमा औषधी, रेडियोलोजी र इसिजी सेवा उपलब्ध छ । हेल्थ साइन्सतर्फ चिकित्सा आयोगले दिएको कोटामा विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, विपीटी, विएस्सी नर्सीङ, विएनएसमा पठनपाठन हुँदै आइरहेको छ ।
अस्पतालले शल्यक्रिया सेवा, सघन उपचार कक्ष(आइसियू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसियू) र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको छ ।
प्रकाशित मिति २०८१ जेठ ७ गते सोमबार ०७:१८




