काठमाडौं ।
सरकारले आजदेखि पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान आज आइतबारदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
अभियानमार्फत छुटेका बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो ।
अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।
पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र मृत्युसमेत हुन सक्छ ।
पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई संक्रमित बनाउने गर्छ ।
नेपालमा सन् २०१० यता पोलियो रोग देखिएको छैन ।
विश्वव्यापी रूपमा यो खोपको अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप लगाउन पाएका थिएनन् ।
त्यस बेला खोप नपाएका बालबालिकामा पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।
प्रकाशित मिति २०८१ जेठ १३ गते आइतबार १०:५५