पोखरा
मंगलबार बस्ने तय भएको गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ ।
सर्वोच्चको परमादेशले नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वकोे सरकार ढलेपछि प्रदेश सभा बैठक स्थगित भएको हो ।
दिउँसो १ बजे बस्ने भनिएको बैठकमा बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने कार्यसूची थियो ।
प्रदेश सभा सचिवालयले सुचना जारी गर्दै आज बस्ने भनिएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएकासम्मका लागि स्थगित भएको जनाएको छ ।
जेठ ११ गते बसेकोे प्रदेश सभा बैठकमा नै बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने कार्यसूचि थियो । प्रतिपक्षको बेन्च खालि भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो ।
बजेट पेस हुनुभन्दा १५ दिन अगावै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने भएपनि सत्ता फेरबदलको असरले ढिला हुने देखिन्छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश जारी गरेको छ । सोमबार न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।
खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वोच्चले असंवैधानिक ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट जारी भएको छ ।
प्रकाशित मिति २०८१ जेठ १५ गते मंगलबार १२:१४




