पाेखरा । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएको प्रहरीले जनाएको छ। घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ ।
‘हालसम्म २३ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्,’ मेरठका विभागीय आयुक्त सी मेश्रामले भने। घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
‘हामीले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौं। अनुसन्धानबाट दोषी ठहरिएका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्नेछौं’,सी मेश्रामले पत्रकारसँग भने। यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्रीले घटनाबारे जानकारी लिएका छन्।
घटनास्थलमा उपस्थित व्यक्तिका अनुसार पीडितहरू आफ्नो आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कारस्थलको कौसी भत्किएपछि छानो खसेको थियो। मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको अस्पतालमा पुगेपछि उपचारका क्रममा मृत्यु भएको थियो।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुखद् घटना भएको भन्दै आफूले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी दिए।
‘घटनाबाट प्रभावित सबैलाई सम्भावित सबै सहयोग प्रदान गरिनेछ,’ उनले भने,‘मृतकका परिवारमा जनही २-२ लाख राहतको घोषणा गरेको जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मिति २०७७ पुस २० गते सोमबार ०८:४९




