२०८३ साउन २१ गते बिहीबार

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, कस्ताे छ समिकरण ?

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, कस्ताे छ समिकरण ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २८ गते सोमबार १०:००

पोखरा । गण्डकीमा आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदैछन् । पाण्डेले विश्वासकाे मतका लागि कांग्रेस सांसदलाई आइतबारदेखि नै रिसोर्टमा राखेका छन् भने अन्य दल र सांसदसँग पनि छलफल जारी राखेका छन् । सुरेन्द्राजले...

राप्रपा, नेसपा र स्वतन्त्र सांसदसँग गाेप्य सहमतिकाे अनुमान

पोखरा । गण्डकीमा आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदैछन् ।

पाण्डेले विश्वासकाे मतका लागि कांग्रेस सांसदलाई आइतबारदेखि नै रिसोर्टमा राखेका छन् भने अन्य दल र सांसदसँग पनि छलफल जारी राखेका छन् ।

सुरेन्द्राजले विश्वासको मतबारे काठमाडौंमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई तथा गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)सँग सहमति गरेर पाेखरा फर्किएकाे हल्ला छ ।

संविधानअनुसार पाण्डेले १३ गतेसम्म विश्वासको मत लिए हुनेमा राप्रपा, नेसपा र स्वतन्त्र सांसदसँग सहमति भएकैले  नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि नै विश्वासको मत लिन अघि बढेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

मुख्यमन्त्री पाण्डेले जेठ २५ गते काठमाडौंबाट फर्केलगत्तै संसदलाई २८ गते ३ बजे विश्वासको मत लिने जानकारी गराएका थिए ।

संविधानको धारा १६८ (२) बमोजिम बनेको एमाले–माओवादीको बहुमतको सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै सर्वोच्चको आदेशअनुसार जेठ १६ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

यस्ताे छ पाण्डे समिकरण

२७ सांसद रहेका नेपाली कांग्रेका मुख्यमन्त्री पाण्डे विश्वासको मत पाउनेमा ढुक्क देखिएका छन् । गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र माग गरेका मनाङे छन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पनि आफू अलग्गै भएको बताउँदै आइरहेका छन्  । यता, पाण्डेलाई विश्वासको मत दिन कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ २५ गते नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि जसले ३० पुर्‍याउँछ उसैलाई आफूले ३१ पु¥याइदिने स्वतन्त्र सांसद दीपक मनाङेले स्पष्ट भनिरहेकाले मुख्यमन्त्री पाण्डेको अर्को रणनीति नेसपाका सांसद देवकोटालाई आफूतिर तान्नु थियो ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संलग्नतामै नेसपा फुटाइएको भन्दै अध्यक्ष डा. भट्टराई रुष्ट छन् । नेसपाका ३ सांसदले माओवादीसँग पार्टी एकता गरेको घोषणा गर्दा डा. भट्टराई, मुख्यमन्त्री पाण्डे, सांसद देवकोटा गोरखा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सँगै थिए । त्यही दिन नै बाबुरामले पाण्डेलाई गण्डकीमा साथ दिने वचन दिएका थिए ।

प्रकाशित मिति २०८१ जेठ २८ गते सोमबार १०:००

हजुरको प्रतिक्रिया